बझाङ – बझाङ जिल्लाको छविसपाथिभेरा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै कुटपिट भएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवलाई गाउँपालिका–२ का मुकेश ऐडीले बिहीवार आक्रमण गरेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत यादव हालै मात्र उक्त पालिकामा हाकिमको जिम्मेवारी लिएर आएका थिए। कुटपिटबाट उनी घाइते भएको र हाल जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ।
मुकेश ऐडी सोही पालिकाका जिप चालक तथा खेलकुद समिति सदस्य हुन्। उनले आफ्नो जिप प्रयोग गरेबापत पालिकाले भुक्तानी नदिएको भन्दै आक्रोशमा आएर कार्यालयमै प्रवेश गरी यादवमाथि हातपात गरेको बताइएको छ।
प्रहरीका अनुसार आक्रमणपछि जिल्ला प्रहरी कार्यालय, बझाङले घटनाको अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्ति र सरोकारवालालाई बयानका लागि बोलाएको छ। ऐडी पनि प्रहरी कार्यालय आउने तयारीमा रहेको जनाइएको छ।
छविसपाथिभेरा गाउँपालिकाका अनुसार ऐडीको गाडी प्रयोगबापत करिब एक लाख ४३ हजार रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ। चालु आर्थिक वर्षमा गाडी भाडाका लागि चार लाख रुपैयाँ विनियोजन गरिएकोमा हाल जम्मा तीन हजार पाँच सय रुपैयाँ मात्र बाँकी रहेको जनाउँदै, बाँकी रकम रकमान्तरमार्फत भुक्तानी गरिने प्रक्रिया अघि बढाइएको पालिकाले स्पष्ट पारेको छ।
कुटपिटमा संलग्न मुकेश ऐडी पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन ऐडीका भतिजा हुन्। गगन ऐडीलाई मन्त्रालयको परिपत्रअनुसार सिनियरतालाई प्राथमिकता दिँदै हटाएर सञ्जय यादवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको थियो। उक्त परिवर्तनपछि असन्तुष्टि र विवाद सिर्जना भएको भन्ने आशंका स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले व्यक्त गरेका छन्।
यस घटनाले स्थानीय तहको प्रशासनिक कार्यशैली, बजेट व्यवस्थापन र कर्मचारी सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको निष्पक्ष छानबिन हुने र दोषीमाथि आवश्यक कानुनी कारबाही गरिने जनाएको छ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
