
बैतडी–बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध विश्वनाथ वनारसी धाममा आगामी चैत १७ गतेदेखि कोटीहोम महायज्ञ सञ्चालन हुने भएको छ ।
विश्वनाथ वनारसी धाममा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण अतिरुद्राभिषेक तयारी शुरु गरिएको धामका धार्मिक प्रवक्ता पण्डित गणेशप्रसाद पन्तले बताए ।
पौराणिक सरयु नदी अर्थात सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको संस्कृतिका जानकारहरुले बताउँदै आएका छन् । वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग जिर्णोदार गरेपछि हरेक बर्ष महायज्ञ सञ्चालन गरिँदै आएको पन्तले बताए ।
कोटीहोम अन्तर्गत १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दीप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन गराउने कार्यक्रम रहेको बताइएको छ ।
त्यस्तै, ५ हजार ५ सय ५५ शालीग्रामशीला पूजन, ४ हजार ४ सय ४४ कलश पूजन, १०८ अखण्ड रामायण पाठपारायण, गायत्री महामृत्युञ्जय पुरश्चरण, आत्ममहापुराण, बिष्णु धर्मोत्तरपुराण, वाशुकीपुराण, वाराहिसंहिता, १०८ उपनिषद्, चारवेद मृदंगपाठ प्रत्येक दिन सवालाख दीप प्रज्वलनगरी आरती गरिने पन्तले बताए । सुर्नया नदी संगममा चारपल्ट महाआरती गर्नुका साथै साथै विविध पाठपारायणको आयोजना गरिने तयारी रहेको बताइएको छ ।
कोटीहोम महायज्ञमा नेपालका ऐतिहासिक जगद्गुरुको सहभागिता रहनुकासाथै विभिन्न क्षेत्रबाट संस्कृतिका जानकार र विद्वानहरुको सहभागिता रहने पन्तले बताए ।
परापूर्वकालमा खपरे नामक दैत्यको संहार गरेको हुनाले सोही बेलादेखि वनारसी देवतालाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ ।
कोटीहोम महायज्ञले विश्वनाथ वनारसी धामको महिमा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । वनारसी धाममा हरेक बर्ष माघ शुक्ल पक्षको दशमी अर्थात शैल्य दशमीको दिन ठूलो जात्रा लाग्ने गर्दछ ।
कोटीहोम महायज्ञमा सहयोग गर्न चाहने महानुभावहरुले तलको खातामा रकम जमा गर्न सक्नेछन् ।