
डडेल्धुरा –डडेल्धुराको एक सहकारीमा चोरी भएको प्रकरणमा सहकारी संस्थाका अध्यक्ष र प्रबन्धकसहित पाँच जना पक्राउ परेका छन् ।
जिल्लाको परशुराम नगरपालिका–४ शीर्ष कटालमा रहेको शीर्ष कृषि सहकारी संस्थामा चोरी भएको घटनामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्टलगायत अन्य सहकारीसँग आबद्ध व्यक्तिहरू पनि रहेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा उनीहरूको संलग्नता देखिएकोले थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
उक्त सहकारीको कार्यालयबाट फागुन २३ गते शुक्रबार राति ११ लाख १३ हजार रुपैयाँ चोरी भएको थियो ।
कार्यालयको पछाडिको ढोका खोलेर नगद राखिएको लकर फुटाइ रकम चोरी भएको थियो । सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।