Sagun Khabar
बैतडीका एक युवक मलेसियाबाट बेपत्ता, खोजीमा सहयोग गरिदिन सरकारलाई आग्रह 

बैतडी –रोजगारीको सिलसिलामा मलेसियामा रहेका बैतडीका एक युवक बेपत्ता भएका छन् । मेलौली नगरपालिका –८ कोटिगाउँका २८ बर्षीय मिनसिंह ठगुन्ना मलेसियाबाट बेपत्ता भएका हुन् । 

मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहिन भएका उनका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिए । फागुन १२ गतेसम्म सम्पर्कमा रहेका ठगुन्ना १३ गतेदेखि सम्पर्कविहिन भएका उनले बताए । 

Atrya hospital

ठगुन्ना पछिल्लो १० बर्षयता मलेसियामा रोजगारी गर्दै आएका थिए । कोठामै काम गर्ने सिलसिलामा टाउकोमा गम्भीर चोट लागेका ठगुन्ना चोट लागेको चार–पाँच दिनपछि बेपत्ता भएका हुन् । 

टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उनीसंगै कोठामा बस्दै आएका अर्का नेपालीले जानकारी गराएको बहादुरसिंह ठगुन्नाले बताए । उनी मोबाइल कोठामै छाडेर बेपत्ता भएका बताइएको छ । 

ठगुन्नाले काम गर्दै आएको कम्पनीले ठगुन्ना सम्पर्कमा नरहेको त्यहाँको प्रहरीलाई जानकारी गरेर उनको कोठा समेत खाली गरिदिएको छ । 

बेपत्ता भएका ठगुन्नाको खोजीमा आवश्यक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई आग्रह समेत गरिएको छ । मेलौली नगरपालिका वडा नं ८ को कार्यालयले ठगुन्नाको खोजीमा सहयोग गरिदिन मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको वडा अध्यक्ष तपेन्द्रसिंह बिष्टले बताए । 

यस्तै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको सचिवालयले पनि बेपत्ता ठगुन्नाको खोजीमा आवश्यक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update