Sagun Khabar
अन्तर्राष्ट्रिय महिला दिवस : दनपामा हिंसा अन्त्यका लागि ११ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर 

बैतडी–अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुले लैङ्गिक हिंसा अन्त्यका लागि ११ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । 

दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा ११ बुँदे प्रतिबद्धता पत्रमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि र सरोकारवालाहरुले हस्ताक्षर गरेका नगरपालिकामा कार्यरत सामुदायिक मनोसामाजिक संयोजक पवित्रा भट्टले जानकारी दिइन् । 

Atrya hospital

दिवसको अवसरमा बैतडी सदरमुकाममा प्रभातफेरी कार्यक्रमको आयोजना गर्नुका साथै विरेन्द्र मावि शाहीलेकमा सांस्कृतिक कार्यक्रमसहितको अन्तरक्रियात्मक छलफल सम्पन्न गरिएको उनले बताइन् । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लैङ्गिकतामा आधारित हिंसा अन्त्यका लागि तयार पारिएको ११ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ । उक्त प्रतिबद्धता पत्रमा लैङ्गिकतामा आधारित हिंसा अन्त्य गर्ने, हानिकारक प्रचलन र अभ्यासको अन्त्य गर्ने, महिला र किशोरीहरुको शिक्षा र स्वास्थ्यको प्रवद्र्धन गर्ने, लैङ्गिक समानताका लागि नीति र कार्यक्रम निर्माण गर्ने, महिलाहरुलाई रोजगारी र व्यवसायका अवसरहरुको वृद्धि गर्ने, सुरक्षित र स्वस्थ वातावरण सुनिश्चितता गर्ने, महिलाको नेतृत्व र निर्णय प्रक्रियामा सहभागिता बढाउने, समाजमा लैङ्गिक समानता र न्यायको सुनिश्चितता गर्ने र सामाजिक, सांस्कृतिक र पारिवारिक संरचनामा महिलाको भूमिका लगायतका कुराहरु उल्लेख गरिएका छन् । 

दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले लिङ्गका आधारमा हुने हिंसा अन्त्यका लागि सबैले एकजुट हुनुपर्ने बताए । 

यस्तै उपप्रमुख कौशिला चन्दले महिलामाथि हुने हिंसा अन्त्यका लागि उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउनुपर्नेमा जोड दिइन् । नगरपालिकाले महिलाहरुको उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताइन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update