Sagun Khabar
तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता सम्पन्न - उपाधी दशरथचन्दले उचाल्यो

बैतडी - तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका  भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

बैतडीको जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा संचालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो । आज सम्पन्न भएको तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका  भलिबल प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकाले उचालेको छ ।  फाइनल खेलमा साविक विजेता मैलाली नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै दशरथचन्द नगरपालिकाले उपाधी उचालेको हो । उपाधी उचाले संगै तेस्रो संस्करणको विजेता बनेको दशरथचन्दले १ लाख २५ हजार पुरस्कार प्राप्त गरेको  आयोजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए ।

Atrya hospital

यस्तै फाइनल खेलमा पराजित मेलौलीले ७५ हजार प्राप्त गरेको छ ।  फाइनल खेलमा सुरूका दुई सेट दशरथचन्दले जितेको थियो । पहिलो सेट २६-२४, दोस्रो २५-२१ ले जितेको थियो ।  तेस्रो सेट भने मेलौलीले २५-१८ ले जितेको थियो । फाइनल खेलमा चौथो सेट फेरी दशरथचन्दले २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधी उचालेको खेलका रेफ्री संयोजक हरि भण्डारीले बताए ।

उक्त प्रतियोगितामा सुर्नया गाउँपालिकाले तेस्रो स्थान हासिल गर्दै  ३५ हजार पुरस्कार प्राप्त गरेको छ । सान्त्वना स्थानमा पाएको सिगास गाउँपालिकाले १५ हजार पुरस्कार प्राप्त गरेको बताइएको छ । दशरथचन्द नगरपालिकाका सुरज चुनारा सर्वोत्कृष्ट खेलाडी बनेका छन ।  सर्वोत्कृष्ट खेलाडी बनेका चुनाराले ५ हजार पुरस्कार समेत प्राप्त गरेको छ।

यस्तै तेस्रो संस्करणको उक्त जिल्लास्तरीय अन्तरपालिका  भलिबल प्रतियोगितामा मेलौलीका सन्देश चन्द बेस्ट सटर बनेका छन ।  दशरथचन्दका नवीन भण्डारी बेस्ट ब्लकर,दशरथचन्दकै सरोज चुनारा बेस्ट डिफेन्डर, सुर्नयाका सुरेन्द्र भाट बेस्ट सर्भर र मेलौलीका बरूण ठगुन्ना बेस्ट स्पाइकर चुनिएका बताइएको छ । खेलका क्रममा समय सदुपयोग गर्दै दर्शकमाझ रुचाइएको दोगडाकेदार गाउँपालिकाको टिम भने अनुशासित टिम घोषणा भएको छ ।

तत्कालीन समयमा वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक भएर काम गरिसकेका बैतडीको दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्दको स्मृतिमा वि स २०७४ सालमा स्थापना भएको मैनेजर तेजबहादुर चन्द ट्रष्टले बैतडीमा विभिन्न सामाजिक कार्य गर्नुका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ। यो बर्ष पनि सोही अनुसार प्रतियोगिताको आयोजना गरिएको ट्रष्टका अध्यक्ष ईन्जिनियर ग्रिस चन्दले बताए ।

ट्रष्टको आयोजनामा फागुन १५ गतेदेखि सुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागीता रहेको बताइएको छ । ट्रष्टको आयोजनामा संचालन हुने प्रतियोगिताको गत संस्करणमा भने फाइनलमा मेलौलीले उपाधी उचालेको थियो । प्रत्येक वर्ष संचालन हुने प्रतियोगिताको यो  संस्करणको खेलका विजेता खेलाडीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख,प्रहरी नायव महानिरिक्षक गणेश चन्द,प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,मैनेजर तेजबहादुर चन्द ट्रष्टका अध्यक्ष ईन्जिनियर ग्रिस चन्दलगायतले पुरस्कार वितरण गरेका छन ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update