
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलद्वारमा लुकाएर झन्डै चार किलो सुन तस्करी गर्ने प्रयासमा रहेका उज्वेकिस्तानका चार नागरिक पक्राउ परेका छन्।
बुधबार विमानस्थल सुरक्षा प्रहरीले भन्सार जाँचपास गरी बाहिर निस्कने क्रममा शंका लागेर जाँच गर्दा उनीहरूको मलद्वारमा लुकाइएको ३ किलो ७४५ ग्राम सुन फेला परेको हो। पक्राउ पर्नेहरूमा उज्वेकिस्तानका तीन महिला र एक पुरुष रहेका छन्, जसको पहिचान गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिव र इस्राइलोव्ना साओदत फैजिवा भएको प्रहरीले जनाएको छ।
उनीहरू फ्लाई दुबईको एफजेएड ५७५ उडानमार्फत काठमाडौं आएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू ‘भरिया’ मात्र भएको र मुख्य योजनाकार अन्य रहेको प्रहरीको निष्कर्ष छ।
नेपाललाई सुन तस्करीका लागि ट्रान्जिटका रूपमा प्रयोग गरिँदै आएको आशंका सुरक्षा निकायले गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।