Sagun Khabar
पकेट क्षेत्रमै मकैबाली जोगाउन धौ–धौ 

बैतडी –मकै उत्पादनका लागि बैतडी पकेट क्षेत्र मानिएपनि जंगली जनावरबाट मकैबाली जोगाउन किसानहरुलाई धौ –धौ भएको छ । दिउँसो बाँदर र रातिको समयमा जंगली बँदेल, भालु, दुम्सी लगायतका जंगली जनावरबाट मकैबाली जोगाउन मुस्किल भएको दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए । 

जंगली बँदेलबाट मकैबाली जोगाउन निकै मुस्किल भएको सुर्नया गाउँपालिका–५ का किसान चन्द्रबहादुर बिष्टले बताए । जंगली बँदेलको बथानले खेतमा लगाएको मकैबाली नष्ट गर्न थालेको उनले बताए । उनले भने ‘पहरा दिँदा समेत मकैबाली जोगाउन सकिएको छैन् । खेत नै रित्तो बनाइसकेको छ ।रातभर टहरामा बसेर पहरा दिँदा समेत मकै जोगाउन सकिएको छैन् ।’

जिल्लाको सुर्नया गाउँपालिका ४ का भुवनबहादुर चन्दले रातदिन पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको बताए । दिनमा बाँदर र रातिको समयमा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको उनले बताए । खेतमै टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको उनले बताए । उनले भने ‘मकैबाली जोगाउन मुस्किल भएको छ । बारीमा लगाएको मकै सबै खाइसकेको छ ।’

रातिको समयमा मात्रै आउने जंगली बँदेल अब दिउँसै बारीमा आउन लागेका पाटन नगरपालिका ३ ढुंगेलीका मोहन पन्तले बताए । बारीमा जंगली बँदेलले दिउँसै आएर मकैबाली नष्ट गरेको उनले बताए । उनले भने ‘जंगली बँदेलले रातिको समयमा मात्रै नभएर पछिल्लो समयमा दिउँसोको समयमा समेत मकै खाइरहेका छन् । बँदेलबाट मकैबाली जोगाउन मुस्किल भएको छ ।’

जिल्लाको पुर्चौंडी क्षेत्रमा पनि जंगली बँदेलले मकैबाली नष्ट गरिरहेको स्थानीय नरबहादुर महराले बताए । रातिको समयमा पहरा दिँदा समेत बाली जोगाउन नसकिएको उनले बताए । 

बैतडीका तल्लोसोराड, च्वाँगढ, पुर्चौंडी, पाटन, सुर्नया, दोगडाकेदार लगायत सबै ठाउँमा जंगली जनावरले मकैबाली नष्ट गरेको किसानहरुले बताएका छन् । रातिको समयमा पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको सुर्नया ४ का स्थानीय रामबहादुर महराले बताए । 

बैतडीमा झण्डै १२ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । विभिन्न कारणले मकैबालीमा क्षति हुने भएकाले हरेक बर्ष उत्पादनमा ह्रास आउँदै गएको छ । 

कृषि बीमा गरेमा किसानहरुले क्षतिपूर्ती पाउने प्रावधान भएपनि कृषि बीमा गर्ने किसानहरुको संख्या भने निकै कम रहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए । किसानहरुको बाली बीमा निशुल्क गर्ने गरिएको भएपनि यो तर्फ किसानहरुको आकर्षण बढ्न सकेको छैन् । 

बाँदर, जंगली बँदेल लगायतका वन्यजन्तुहरुले बालीनालीमा क्षति पुर्याएमा डिभिजन वन कार्यालयमार्फत केही राहत भने उपलब्ध गराइँदै आएको छ । बालीनालीमा क्षति पुर्याएको ३५ दिनभित्र निवेदन दिएमा क्षतिको मूल्यांकन गरेर सम्बन्धित निकायको सिफारिशका आधारमा केही क्षतिपूर्ती पाउने व्यवस्था रहेको जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update