बैतडी –बैतडीको सुर्नयामा चिया खेतीको शुरुवात गरिएको छ ।
गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ का उच्च क्षेत्रमा चिया खेतीका लागि सम्भाव्यता अध्ययनपछि अर्थोडक्स चियाका बिरुवा रोपण गरिएको हो ।
आज एक कार्यक्रमकाबीच सुर्नया गाउँपालिका वडा नं ६ को ठूलीखाली भन्ने स्थानमा सिगास मावि मुसे रौटेको १४ रोपनी जमीनमा चियाका बोट रोप्ने कार्यको उद्दघाटन गरिएको सुर्नया चिया कफी तथा कृषि पर्यटन विकास समूहका सदस्य धर्मानन्द अवस्थीले बताए ।
गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर, विभिन्न वडाका वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरुको उपस्थितीमा चियाका बोट रोपण कार्य शुरु गरिएको छ ।
गाउँपालिकाको सहयोग र नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको समन्वयमा गएको मंसिरमा सुर्नयामा चिया खेतीको सम्भाव्यता अध्ययन गरिएको थियो । उक्त अध्ययनकै आधारमा चिया खेतीको शुरुवात गरिएको सुर्नया चिया कफी तथा कृषि पर्यटन विकास समूहका संयोजक कृष्ण बिष्टले बताए ।
पहिलो चरणको नुवाकोटबाट २२ हजार चियाका बोट खरीद गरेर ल्याएको उनले बताए । यी बोटहरु सुर्नया गाउँपालिका वडा नं ५ को बन्दीपुर, वडा नं ६ को ठूलीखाली, वडा नं ७ को छिडा र वडा नं ८ को दोरामा रोपण गरिने उनले बताए ।
सिगास मावि मुसे रौटेको जमीनमा चियाको परीक्षण नमूना प्लट बनाउने उद्देश्य रहेकाले २२ हजार बोटमध्ये बढी उक्त नर्सरीमा नै रोपण गरिने सदस्य अवस्थीले बताए ।
गाउँपालिकाले गत आर्थिक बर्षको नीति तथा कार्यक्रममा उच्च क्षेत्रमा चिया खेतीको सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख गरेको र सोही अनुसार चार वडाका उच्च क्षेत्रमा चिया खेती परीक्षणको शुरु गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
गाउँपालिकाको विभिन्न ठाउँमा पहिलो चरणमा २८१ हेक्टर जमीनमा चिया खेती गरिने बताइएको छ । चियाखेतीबाट सुर्नयाका ७ सय परिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
पहिलो चरणमा परीक्षणको रुपमा चिया खेतीको शुरुवात गरिएको र यो सफल भएमा गाउँपालिकाका अन्य स्थानहरुमा समेत चिया खेती विस्तार गर्ने योजना रहेको बताइएको छ ।




