
बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकामा आजदेखि कृषि प्रदर्शनी मेला शुरु भएको छ । गाउँपालिकाको वडा नं ५ स्थित हरिनगर खेलमैदानमा मेलाको आयोजना गरिएको डिलाशैनी गाउँपालिकाको कृषि शाखामा कार्यरत प्राविधिक दिपकराज जोशीले बताए ।
तीनदिन सम्म सञ्चालन हुने मेलामा किसानहरुले आफ्ना उत्पादन राखेका छन् । डिलाशैनी गाउँपालिकाभित्रका उत्कृष्ट किसानहरुलाई पुरस्कृत समेत गर्ने योजना रहेको जोशीले बताए । यस्तै डिलाशैनी बाहिरका किसानहरुलाई निशुल्क रुपमा स्टल उपलब्ध गराएको जोशीले बताए ।
गाउँपालिकाभित्रका किसानहरुको कृषि उपजको बजारीकरण र किसानहरुलाई हौसला प्रदान गर्न कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । गत बर्षदेखि यस्तो मेलाको आयोजना गर्ने गरिएको उनले बताए ।
कृषि प्रदर्शनी मेलामा किसानहरुले खाद्यान्न बाली, दलहन बाली, नगदेबाली र तरकारी बाली ल्याएका छन् । यस्तै स्थानीयस्तरमा निर्माण गरिएका कृषि औजार र उपकरण समेत मेलामा राखिएको जोशीले बताए । खाद्यान्न बाली अन्तर्गत मकै, गहुँ, दलहन बाली अन्तर्गत केराउ, मसुरो, नगदेबाली अन्तर्गत उखु, कफी, चियाका बोट र तरकारी बाली अन्तर्गत बन्दा, काउली, मुला, गोलभेडा, च्याउ लगायतका वस्तुहरु प्रदर्शनीमा राखिएका छन् ।
कृषि प्रदर्शनी मेलामा राखिएका कृषिजन्य वस्तुहरुको प्रत्येक बाली समूहमा प्रथम,द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
प्रथम हुनेलाई २ हजार रुपैयाँ, दोश्रो हुनेलाई १ हजार ५ सय रुपैयाँ, तेश्रो हुनेलाई एक हजार रुपैयाँ र सान्त्वना स्थान प्राप्त गर्नेलाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
कृषि प्रदर्शनी मेलाको उद्दघाटन सत्रमा गाउँपालिका अध्यक्ष जोशीका साथै सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पाल, प्रदेशसभा सदस्य शिवराज भट्ट लगायतको उपस्थिती रहेको थियो ।