Sagun Khabar
महाशिवरात्रि : पाताल भुवनेश्वर धाममा धार्मिक प्रवचन सम्पन्न 

बैतडी –महाशिवरात्रिको अवसरमा बैतडीको पाताल भुवनेश्वर धाममा धार्मिक प्रवचन सम्पन्न गरिएको छ । सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर धाममा हरेक बर्ष महाशिवरात्रिको अवसरमा ठूलो मेला लाग्ने र सोही मेलाको अवसरमा धार्मिक प्रवचनको आयोजना गरिएको सुर्नया गाउँपालिका–२ का अध्यक्ष गणेशबहादुर बिष्टले बताए । 

गएको असोजदेखि पाताल भुवनेश्वर धाम परिसरमा तपस्यमा रहेकी गुरुआमाले प्रवचन दिएको बिष्टले बताए । भारतको सिक्किम घर भएकी बाल तपस्वी गएको असोजदेखि पाताल भुवनेश्वर धाममा तपस्यामा रहेकी छन् । उनी २७ महिनासम्म पाताल भुवनेश्वर धाममै रहने बताइएको छ । 

Atrya hospital

पाताल भुवनेश्वर धाम जाने गेट नजिकै प्रवचनस्थल बनाइएको र सोही प्रवचनस्थलबाट गुरुमाले प्रवचन दिएको पाताल भुवनेश्वर धाम प्रवचन व्यवस्थापन समितिका सल्लाहकार सिद्धराज भट्टले बताए । 

प्रवचन कार्यक्रममा बैतडीका विभिन्न ठाउँबाट श्रद्धालुहरुको सहभागिता रहेको थियो । महाशिवरात्रिको अवसरमा पाताल भुवनेश्वर धाममा लागेको मेलामा हजारौं दर्शनार्थीहरुको सहभागिता छ । 

चारैतिर वनजंगलले घेरेको बीचमा प्राकृतिक ताल रहेको पाताल भुवनेश्वर धाममा एउटा मुख्य गुफा र अन्य चारओटा गुफा रहेका स्थानीय जानकारहरुले बताएका छन् । सडकबाट झण्डै आधाकिलोमिटरको दुरीमा रहेको पातालभुवनेश्वरधाममा पुग्न पदमार्ग निर्माण गरिएको छ भने पछिल्लो समयमा मन्दिर निर्माणको काम समेत अघि बढाइएको छ । 

२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसार पातालभुवनेश्वरगुफा दक्षिण एसीयाकै लामो गुफा हुन सक्ने अनुमान गरेको थियो । 

पातालभुवनेश्वरधाम अग्लो डाँडोमा अवस्थित भएपनि धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ । पछिल्लो समयमा संरक्षणको अभावमा ताल सुक्ने खतरा बढ्दै गएको स्थानीयबासी बताउँछन् । पाताल भुवनेश्वर धामको बारेमा स्कन्द पुराणको मानसखण्डमा समेत उल्लेख गरिएको पाइन्छ । 

भगवान विष्णुले राजा बलिलाई सोही गुफाबाट पाताल पठाएको र सोही बेलादेखि पातालभुवनेश्वर नाम रहेको बताईएको छ । यस्तै अर्को प्रसंगमा भगवान शिवले सतीदेवीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पातालभुवनेश्वर शिवशक्तिको रुपमा स्थापित भएको किम्वदन्ती छ । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update