
बझाङ् — खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी जोशीले जीवनभर कृषिमा समर्पित जीवन बिताउँदै आइरहेकी छिन् । उमेरको यो अवस्थामा आएर पनि उनलाई नागरिकता र सरकारी कागजातको बारेमा कुनै जानकारी थिएन । तर, हालै जिल्ला प्रशासन
कार्यालयले घरमै पुगेर उनलाई नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले शनिबार उनको घरमै पुगेर नागरिकता हस्तान्तरण गरेकी हुन् ।
जोशीको जन्म विक्रम संवत् १९८६ साउन ११ गते थलारा गाउँपालिका–७ घोडादाउनामा भएको हो । नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले जीवनभर अनागरिक भएर बसेकी जोशीलाई विशेष पहल गरेर कागजात पूरा भएपछि ढिलाइ नगरी नागरिकता हस्तान्तरण गरिएको जानकारी दिइन् ।
तुलसीदेवी जोशी बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी हुन् । उनका लागि पिठातोला नै जीवनको केन्द्र बनेको छ । ५७ वर्षको वैवाहिक जीवनपछि उनका पति पदमराज जोशीको निधन भएको थियो । त्यसपछि उनी एकल जीवन बिताउँदै आएकी छिन् ।
जोशी आज पनि आफ्नो बारीमा व्यस्त रहन्छिन् ।