
बाजुरा-बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार झडपका क्रममा घाइते भएका बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो।
उनी गएराति मोटाबाडामा आयोजित बिहे समारोहमा सहभागी हुन गएका थिए। सोही क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ। झडपमा गम्भीर घाइते भएका थापालाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।
उक्त घटनामा संलग्न भएको आरोपमा बुढीगंगा नगरपालिका–७ वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।