
बैतडी –बैतडीको सिगास गाउँपालिका –३ का ६३ घरहरुमा सोमबार बिजुलीबत्ती बलेको छ ।
तीनओटा ट्रान्सफर्मर चार्ज गरेर एकैदिन ६३ ओटा घरधुरीमा बिजुली बलेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्राविधिक प्रमुख माधव लेखकले बताए ।
सिगास गाउँपालिकाको वडा नं३ का लगन, ठूलीसैन, मसुणा,दुर्लना र चमडेखर्कका ६३ ओटा घरधुरीमा बिजुलीबत्ती बलेको हो ।
सिगास गाउँपालिकाको आर्थिक लगानी र नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक सहयोगमा बिजुलीबत्ती बलेको हो । गाउँमा पहिलो पटक बिजुली बलेपछि स्थानीयहरुले बाजागाजासहित खुसीयाली मनाएका छन् ।
सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले विद्युतको स्वीच थिच्दै ६३ घरधुरीमा विद्युत सेवा सुचारु भएको घोषणा गरेका थिए ।
वडाका अन्य गाउँहरुमा पनि विद्युतको लाइन विस्तार गरिएको र ग्राहकहरुले मिटर जडान गरेपछि विद्युत सेवा सुचारु गरिने सिगास गाउँपालिका–३ का अध्यक्ष अमरसिंह धामीले बताए ।
गाउँपालिकाले विद्युत विस्तारको कामलाई प्राथमिकतामा राखेको र यसलाई अगाडि बढाउन सबैले सहयोग गरेको गाउँपालिका अध्यक्ष धामीले बताए । विद्युतीकरण र सडक निर्माणको कामलाई पालिकाले प्राथमिकता दिएको उनले बताए ।
सिगास गाउँपालिकामा विद्युत विस्तारको काम धमाधम भइरहेको छ । पालिकाका अन्य दुई सय घरमा विद्युत विस्तारको काम भइरहेको एसबी कन्सट्रक्सनका प्रतिनिधि प्रकाश जोशीले बताए ।
बैतडीमा पूर्ण विद्युतीकरणको काम भइरहेको र यसका लागि बैतडी वितरण केन्द्रले आवश्यक समन्वय र सहयोग गरिरहेको प्राविधिक प्रमुख लेखकले बताए ।
सिगासको दुर्गम क्षेत्रमा विद्युत विस्तार भएपछि स्थानीयबासिन्दाहरु खुसी भएका छन् । सोलारको भरमा उज्यालोको जोहो गरिरहेकाहरु विद्युत विस्तारपछि खुसी भएका स्थानीय राजेन्द्रसिंह धामीले बताए ।
विद्युत विस्तार भएपछि अब गाउँमै कुटानीपिसानी मिल सञ्चालन र अन्य व्यवसायका लागि समेत सहज हुने उनले बताए ।