
बैतडी –बैतडीको दुदिलाखान–गाँजरी सडक धुलाम्य हुँदा यात्रुहरुलाई सास्ती भएको छ । २०४८ सालमा ट्रयाक खोलिएको उक्त सडक २०६८ सालमा गाँजरी सम्म पुगेको थियो । दुदिलाखानबाट गाँजरी सम्मको ९ किलोमिटर समयमै स्तरोन्नती नहुँदा हिउँदमा धुलाम्य र बर्षातमा हिलाम्य हुने गरेको छ ।
धुलाम्य सडकले पैदल यात्रीलाई झन् समस्या हुने गरेको घनश्यामसिंह धामीले बताए । तत्कालिन च्वाँगढ क्षेत्रको सबैभन्दा पुरानो सडकको रुपमा रहेको उक्त सडकलाई कालोपत्रे गर्नका लागि अहिले सम्म पहल नभएको उनले बताए ।
दुदिलाखान–गाँजरी सडक स्थानीय सरकार आएपछि कुर्चेनेटासम्म विस्तार भएको छ । सिगास गाउँपालिकाको केन्द्र गर्जे जोड्नका लागि उक्त सडक विस्तार गरिएको भएपनि सडक निर्माणमा अवरोध भएपछि कुर्चेनेटामै सडक रोकिएको छ ।
गाँजरीसम्म पनि सडक कालोपत्रे भएमा त्यस क्षेत्रका नागरिकलाई केही राहत हुने स्थानीय नवराज धामीले बताए । दुदिलाखान–गाँजरी लामो समयसम्म स्तरोन्नती नहुँदा सास्ती भोग्नुपरेको उनले बताए । सडकमा यात्रा गर्दा धुलैधुलो भएर घर पुग्नुपर्ने बाध्यता रही आएको छ ।
सडकमा गाडी गुडिरहेका बेला पैदल हिड्नेहरुलाई झन् सास्ती हुने गरेको छ । सडकभरी धुलो उड्दा विद्यार्थी र अन्य पैदल यात्रीहरुलाई समस्या हुने गरेको हो ।
अर्जुन मावि गाँजरीमा अध्ययनरत कतिपय बालबालिकाहरु सोही सडकको बाटो भएर हिड्ने गरेका छन् । उनीहरु शरीरभरी धुलैधुलो भएर विद्यालय तथा घरमा पुग्ने गरेका छन् ।
सिगास गाउँपालिकाको मुख्य बजारको रुपमा समेत रहेको गाँजरीसम्म सडक स्तरोन्नती गर्ने माग पुरानो भएपनि पूरा हुन सकेको छैन् । यसमा संघीय सरकारले ध्यान दिनुपर्ने धामीले बताए ।
दुदिलाखान–गाँजरी सडक स्तरोन्नतीका लागि प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने सिगास गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र ऐरीले बताए । पालिकाको बजेटले सडक कालोपत्रे गर्न नसकिने भएकाले प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।