
बैतडी–बैतडीका तीनओटा पालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान आजदेखि सञ्चालन भएको छ । जिल्लाको सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा खोप अभियान सञ्चालन भएको हो ।
जिल्लाका अन्य स्थानीय तहहरुमा यसअघि नै खोप अभियान सञ्चालन भइसकेको छ । यही माघ २२ देखि शुरु भएको अभियान अन्तर्गत केही पालिकाहरुमा खोप अभियान सम्पन्न भइसकेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेरका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिने कार्य भइरहेको हो ।
सुर्नया गाउँपालिकामा १ हजार ८४ जना किशोरीहरुलाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । यसका लागि १९ ओटा विद्यालय र ८ ओटा स्वास्थ्यचौकीहरुलाई खोप केन्द्र तोकिएको छ । पालिकाभरी आजदेखि खोप अभियान शुरु भएको र फागुन १ गते सकिने महराले बताए ।
यस्तै मेलौली नगरपालिकामा १ हजार १ सय १४ जना किशोरीहरुलाई खोप दिने लक्ष्य रहेको छ । नगरपालिकाभित्रका विद्यालय र स्वास्थ्य संस्थामा रहेका ३२ ओटा खोप केन्द्रमार्फत खोप दिने कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।
यस्तै डिलाशैनी गाउँपालिकामा पनि आजदेखि खोप अभियान शुरु भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए । पालिकाभरीका १ हजार ३ सय ३ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको छ । डिलाशैनीमा फागुन १ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत २८ ओटा खोप केन्द्र तोकिएका छन् ।
यसअघि जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिका खोप अभियान सम्पन्न भइसकेको छ ।
पाटन नगरपालिकामा आज अभियान सम्पन्न हुँदैछ भने पञ्चेश्वर गाउँपालिकामा भोलि खोप अभियान सम्पन्न हुने बताइएको छ ।
बैतडीका १३ हजार ५६४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाउने लक्ष्य रहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।