
बैतडी–बैतडीको सिगास गाउँपालिकामा वादविवाद, वक्तृत्वकला र हस्त लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
पालिकाभरीका सामुदायिक विद्यालयहरुको सहभागितामा तीनओटै प्रतियोगिता बुधबार सम्पन्न गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले जानकारी दिए ।
गाउँपालिकाको शैक्षिक पात्रो अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त प्रतियोगिता सञ्चालन गरिएको भट्टले बताए । कक्षा ९ देखि १२ का विद्यार्थीहरुको सहभागिता वादविवाद प्रतियोगिता सम्पन्न गरिएको छ ।
‘सामाजिक सञ्जाल बरदान कि अभिशाप’ शीर्षकमा सञ्चालन गरिएको वादविवाद प्रतियोगितामा लेकलुपुड माविका सुरेश ऐर प्रथम, भुवनभाष्कर माविकी पुष्पा साउँद द्वितीय, पञ्चोदय माविकी प्रमिला धामी तृतीय र बालकृष्ण माविकी गीता साउँदले सान्त्वना स्थान प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा १५ ओटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
यस्तै कक्षा ९ देखि १२ का विद्यार्थीहरु सहभागी रहेको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’शीर्षकमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा नरेन्द्रपुर माविकी मनिषा महरा प्रथम, महादेव माविका मोहन रोकाया द्वितीय, अर्जुन माविका पारस क्षेत्री तृतीय र लेकलुपुड माविकी कमला ऐरले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
यसैगरी कक्षा ६ देखि ८ का विद्यार्थीहरु सहभागी रहेको ‘समाज सुधारमा शिक्षाको भूमिका’ बिषय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ९ ओटा वडाका ९ टीमको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा भुवन भाष्कर माविकी लक्ष्मी धामी प्रथम,भुवनेश्वरी माविका भुपेन्द्रसिंह धामी द्वितीय, शारदा माविकी निर्मला खडायत तृतीय र नरेन्द्रपुर माविका पारस विकले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
यस्तै कक्षा १ देखि ५ का विद्यार्थीहरु सहभागी रहेको हस्त लेखन प्रतियोगितामा भूमीराज माविका सुन्दर नेपाली प्रथम, पञ्चोदय माविका दिपेशसिंह धामी, अर्जुन माविकी निकिता सिंह तृतीय र उदय माविकी पुष्पा विकले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विद्यार्थीहरुको अतिरिक्त क्षमताको विकास गर्नका लागि यस्ता क्रियाकलापहरु सञ्चालन गर्ने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।