
बैतडी –विवाहको उमेर २० बर्ष नै कायम राख्न बैतडीका किशोरकिशोरीहरुले माग गरेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई चिठी पठाउँदै २० बर्षभन्दा मुनि विवाह गर्दा विभिन्न समस्या सिर्जना हुने भएकाले विवाहको उमेर २० बर्ष नै कायम राख्न आग्रह गरेका हुन् ।
संसदको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले विवाहको उमेर घटाउन बहस शुरु गरेकाले किशोरकिशोरीहरुले विवाह उमेर नघटाउन आग्रह गरेका हुन् ।
यसअघि प्रमुख जिल्ला अधिकारीमार्फत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा ज्ञापन पत्र बुझाएका किशोरकिशोरीहरुले प्रधानमन्त्री सामूहिक रुपमा चिठी पठाएका हुन् ।
पाटन नगरपालिका वडा नं २ र ६ मा रुपान्तरण कक्षामा सहभागी किशोरकिशोरीहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई चिठी पठाएको बालविवाह अन्त्यको क्षेत्रमा काम गरिरहेको संस्था परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले जानकारी दिइन् ।
२० बर्षभन्दा कम उमेरमा विवाह गर्दा मानव जीवनमा विभिन्न खालका समस्याहरु आउने भएकाले विवाहको उमेर २० बर्ष नै उपयुक्त रहेकाले आफूहरुले प्रधानमन्त्रीलाई चिठी पठाएको किशोरकिशोरी सहजकर्ता पवित्रा ऐरले बताइन् । नेपालको मौजुदा कानुनमा विवाहको उमेर २० बर्ष कायम रहेकाले त्यसलाई यथावत राख्न चिठीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताइन् ।
संसदीय समितिको उपसमितिले विवाहको उमेर १८ बर्ष राख्दा उपयुक्त हुने सुझाव आएको बताएपछि किशोरकिशोरीहरु त्यसको विपक्षमा उभिएका छन् । २० बर्षभन्दा मुनिको विवाहले किशोरकिशोरीहरुले शिक्षा समेत ग्रहण गर्न नपाउने अवस्था सिर्जना हुने उनीहरुले बताउँदै आएका छन् ।
मुलुकी देवानी संहिता २०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । साथै तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवानाको सजाय तोकिएको छ ।
मुलुकी देवानी संहितामा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने व्यवस्था भएपनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । यसले विभिन्न जटीलताहरु देखापरेका कतिपय सरोकारवालाहरुले बताएका छन् ।
त्यसैगरी कानुनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोही कारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको नमानिने समेत उल्लेख छ ।