Sagun Khabar
सामाजिक सदभावको वनारसी जात्रा भोलि, पाटनमा सार्वजनिक बिदा 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं –३ स्थित प्रसिद्ध वनारसी धाममा भोलि जात्रा लाग्ने भएको छ । हरेक बर्ष माघ शुक्ल दशमीका दिन उक्त मन्दिरमा जात्रा लाग्ने गर्दछ । माघ शुक्ल पक्षको प्रतिपदाबाट पूजाआजा शुरु भइ माघ शुक्ल दशमीका दिन वनारसी धाममा जात्रा लाग्ने गरेको स्थानीय हरिदत्त पन्तले जानकारी दिए । 

अन्य मन्दिरमा ब्राम्हण समुदायका मानिसमात्रै पूजारी हुने भएपनि यो मन्दिरमा भने दलित समुदायका पूजारी छन् । दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्ने चलन रही आएको छ । 

वनारसी मन्दिरमा परापूर्वकालदेखि दलित समुदायका पूजारीले पूजाआजाको काम गर्दै आएका छन् । यसले जातीय भेदभाव गर्नुहुँदैन भन्ने कुरा सिकाएको पण्डित गणेशप्रसाद पन्तले बताए । दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै जातजातीका दर्शनार्थीहरुले प्रसाद ग्रहण गर्ने चलन रही आएको पन्तले बताए । उनले भने ‘वनारसी धामको जात्रा सामाजिक सदभावको जात्रा हो । यो जात्रामा सबै समुदायका नागरिक एकै ठाउँमा भेला भएर पूजाआजा गर्ने गर्दछन् ।’

Atrya hospital

वनारसी धाममा लाग्ने जात्रामा हजारौं दर्शनार्थीहरु सहभागी हुने गरेका छन् । उक्त जात्रामा बैतडीका मात्रै नभएर टाढाका भक्तजनहरुको समेत सहभागिता रहने गरेको छ । सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत दर्शनका लागि जात्रामा आउने गरेको पाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्टले बताए ।

वनारसी मन्दिरमा १२ औं शताब्दीबाटै जात्रा हुने गरेको स्थानीयबासी बताउँछन् । सोही बेलादेखि सो मन्दिरमा सबै समुदायका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने गरेको किम्बदन्ती रहेको छ । देवता र दैत्यबीच लडाईँ हुँदा खोपरे नामक दैत्यलाई वनारसी देवताले मारेको किम्वदन्ती रही आएको छ । सोही समयदेखि वनारसी देवतालाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ । 

वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरिएकाले पछिल्लो समयमा यहाँ दर्शन गर्नेहरुको संख्या बढ्दै गएको पण्डित गणेशप्रसाद पन्तले बताए । मन्दिर निर्माण गरेर वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरिएको उनले बताए । 

वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताउँदै आएका छन् । पौराणिक सरयु नदी अर्थात सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको उनको दाबी छ । 

यसैबीच वनारसी धाममा लाग्ने जात्राको अवसरमा पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै शुक्रबार वनारसी धाममा लाग्ने जात्राको अवसरमा पालिकाभरीका सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ । 

वनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्गमा लाग्ने जात्राको अवसरमा शुक्रबार पालिकाभरीका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्थाहरुमा बिदा दिएको नगरपालिकाले उल्लेख गरेको छ । 

वनारसी धामको जात्रामा स्थानीयहरुको सहभागितालाई दृष्टिगत गरेर बिदा दिइएको नगर प्रमुख गौरीसिंह रावलले बताए । वनारसी धामको जात्रामा पाटन नगरपालिकाले हरेक बिदा दिँदै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update