Sagun Khabar
मानव तस्करी तथा ठगी आरोपमा अछामका कांग्रेस नेता ताराप्रसाद खनाल पक्राउ

 कैलाली प्रहरीले नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा (क) का निर्वाचन क्षेत्रीय सभापति ताराप्रसाद खनाललाई मानव तस्करी तथा ठगी आरोपमा पक्राउ गरेको छ। मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।

 ब्युरोका प्रमुख एसएसपी दिपेन्द्र जिसीका अनुसार खनालको साथबाट २ करोड ७० लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको छ। उनीमाथि रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूबाट करोडौं ठगी गरेको आरोप लागेको छ। पीडितहरूको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

खनालले एक व्यक्तिलाई पोल्याण्ड पठाएर बेचबिखन गरेको आरोप पनि लागेको छ। काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ।

मानव तस्करी तथा ठगी रोकथामका लागि प्रहरी गम्भीर रूपमा लागिपरेको एसएसपी जिसीले बताएका छन्। यस्ता घटनाहरू रोक्न प्रहरीले निगरानी बढाइरहेको र दोषीमाथि कडा कारबाही गरिने जनाइएको छ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update