बैतडी– सुरेश अवस्थी–बैतडीको सुर्नया गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहरा र प्रवक्ता प्रताप महराले खेल क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । सुर्नया गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन समारोहमा बोल्दै उनीहरूले खेल क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिने घोषणा गरे ।
समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष बोहराले खेलकुद पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा प्रशिक्षणलाई निरन्तर सहयोग गरिने बताइन् । उनले भनिन्, “हाम्रो पालिकाले खेल क्षेत्रलाई समृद्ध बनाउन खेल पूर्वाधारमा लगानी गर्नेछ ।“ प्रवक्ता महराले पनि खेलकुदले युवाहरूलाई सही मार्गमा डोर्याउने भएकाले यस क्षेत्रको मजबुतीकरणमा विशेष ध्यान दिनुपर्ने बताए ।
स्थानीयस्तरमै खेल गतिविधि प्रवद्र्धन गर्नका लागि सुर्नयाले विभिन्न योजना अघि सारेको बताउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने अभियानलाई तीव्रता दिन खेल सामग्री, प्रशिक्षण र प्रतियोगिताहरूको आयोजना गरिने प्रवक्ता महराले जानकारी दिए ।
गाउँपालिकाले शिक्षासँगै खेल क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै खेलाडीहरूलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने योजना बनाएको बताए । उपाध्यक्ष बोहरा र प्रवक्ता महराले खेल र शिक्षालाई परिपूरक क्षेत्रका रूपमा विकास गर्ने प्रतिज्ञा व्यक्त गरे । उनीहरूले सुर्नयालाई खेल क्षेत्रको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सबै सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको समेत उल्लेख गरे ।
स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गराउन विशेष योजनाहरू ल्याइने तथा विद्यालयस्तरमै खेलको प्रवद्र्धन गरिने जानकारी दिइएको छ । खेलाडीहरूको हौसला बढाउँदै सुर्नयालाई खेल क्षेत्रमा चिनाउने उद्देश्यले आवश्यक पूर्वाधार विस्तारको तयारी समेत भइरहेको बताए ।
कार्यक्रममा उपस्थित स्थानीय राजनीतिक नेतृत्व तथा अन्य पदाधिकारीहरूले संघ र प्रदेश सरकारबाट बजेट सहयोगको आवश्यकतामा जोड दिए । उनीहरूले खेल क्षेत्रलाई समुदायको समृद्धिको एउटा बलियो पक्षका रूपमा स्थापित गर्न आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।
कार्यक्रममा स्थानीयबासी, जनप्रतिनिधि, खेलाडी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । उपस्थित पाहुनाहरूले खेलकुदको महत्वलाई उजागर गर्दै यसको विकासका लागि ऐक्यबद्धता जनाएका थिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहले सुर्नयामा खेल क्षेत्रको उज्ज्वल भविष्यको संकेत गरेको छ ।