
बैतडी–यही माघ २२ गतेदेखि सञ्चालन हुने एचपीभी खोप अभियान अन्तर्गत बैतडीको पाटन नगरपालिका–४ मा एक सय चालिस जना किशोरीहरुलाई खोप दिइने भएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन हुने एचपीभी खोप अभियानको बारेमा जानकारी दिन शनिबार वडा नं ४ को कार्यालयमा आयोजित कार्यक्रममा वडाभरीका १ सय ४० जना किशोरीहरुलाई खोप दिन लागिएको जनाइएको छ ।
वडाभरी कक्षा ६ देखि १० सम्म अध्ययनरत १ सय ४० जना किशोरीहरु रहेका उनीहरुलाई एचपीभी खोप दिइने भुमेश्वर स्वास्थ्यचौकीका प्रमुख जगदीश विकले जानकारी दिए ।
वडा नं ४ स्थित भुमेश्वर मावि ठाँड र नवदुर्गा आधारभूत विद्यालय पाखाधारमा अध्ययनरत छात्राहरुलाई खोप दिइने बताइएको छ । वडा नं ४ मा १० देखि १४ बर्ष उमेरका विद्यालय बाहिर रहेका किशारी नभएको विकले बताए ।
खोप अभियान अन्तर्गत माघ २२ गते भुमेश्वर मावि ठाँड र माघ २३ गते नवदुर्गा आधारभूत विद्यालयमा खोप दिइने उनले बताए । छुटेका किशोरीहरुका लागि माघ २४ गते भुमेश्वर स्वास्थ्यचौकीमा खोप दिइने विकले जानकारी दिए ।
एचपीभी खोप अभियानका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा पाटन नगरपालिका–४ का वडा अध्यक्ष दिपकसिंह बिष्ट, जिल्ला समन्वय समिति बैतडीका पूर्व प्रमुख सिद्धराज भट्ट, वडा सदस्यहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
देशभरजस्तै बैतडीमा पनि माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुँदैछ । उक्त अभियानमा बैतडीमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेरका १३ हजार ५६४ जना किशोरीहरुलाई खोप दिने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।