Sagun Khabar
बैतडीको शिखर सहकारी संस्थाको साधारण सभा सम्पन्न, अध्यक्षमा बोहरा चयन 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 

साधारण सभाले आगामी तीन बर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । रमेशबहादुर बोहराको अध्यक्षतामा सहकारी सञ्चालक समिति चयन गरिएको निवर्तमान अध्यक्ष मानबहादुर बोहराले बताए । 

उक्त समितिको उपाध्यक्षमा भागरथी बोहरा, सचिवमा नरसिंह बोहरा, सहसचिवमा प्रकाशबहादुर बोहरा, कोषाध्यक्षमा जयसिंह बोहरा लगायत अन्य सदस्यहरु रहेका छन् । 

२०६६ सालमा स्थापना भएको सहकारी संस्थामा २ सय ३० जना शेयर सदस्य रहेका छन् भने २ सय १ जना बालबचतकर्ता रहेका छन् । 

सहकारी संस्थाको हालसम्म ५१ लाख ६४ हजार २१५ रुपैयाँ शेयर पूँजी रहेको छ भने ४२ लाख ७८ हजार ३८४ रुपैयाँ ऋण लगानी गरिएको छ । 

दुर्गम क्षेत्रका नागरिक बित्तीय सेवामा पहुँच पुर्याउन सहकारी संस्थाले स्थापना कालदेखि काम गरिरहेको निवर्तमान अध्यक्ष बोहराले बताए । 

सहकारी संस्थाका निवर्तमान अध्यक्ष मानबहादुर बोहराको अध्यक्षतामा भएको साधारण सभामा सुर्नया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष केशवबहादुर बिष्ट प्रमुख अतिथी रहेका थिए । 

साधारण सभामा सहकारी संस्थाका शेयर सदस्यहरुका साथै अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update