बैतडी–बैतडीको सुर्नया गाउँपालिका–३ स्थित बासुलिङ्ग स्वास्थ्यचौकीमा पानीको व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा सञ्चालनमा रहेको स्वास्थ्यचौकीमा पानीको अभाव रहेको स्वास्थ्यचौकीका प्रमुख दलबहादुर बिष्टले बताए । पानीको अभावमा प्रसूती सेवा लगायत अन्य स्वास्थ्य सेवाहरु प्रदान गर्न असहज भइरहेको उनले बताए ।
बासुलिङ्ग स्वास्थ्यचौकीमा नजिकैको मूहानबाट पानी ल्याइएको थियो । तर उक्त पानी तान्ने मोटर बिग्रिएपछि एक बर्ष यता पानीको समस्या रहेको स्वास्थ्यचौकी प्रमुख बिष्टले बताए । उनले भने,‘७०÷८० हजार लगानी गर्न सके स्वास्थ्यचौकीमा नियमित पानीको व्यवस्थापन हुन सक्थ्यो । स्वास्थ्यचौकीसंग आफ्नो आम्दानी केही छैन् । अन्यत्रबाट कसैले चासो दिएका छैनन् ।’
स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुको सरसफाइका लागि पानी आवश्यक रहेको भएपनि बोकेरै पानीको जोहो गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकीकी अनमी दिपिका बोहराले बताइन् । दिउँसोको समयमा पानी बोकेर जोहो गर्ने गरिएको भएपनि रातिको समयमा समस्या हुने गरेको उनले बताइन् ।
स्वास्थ्यचौकीमा पानीको व्यवस्थापन नहुँदा सेवाग्राहीलाई मात्रै नभएर क्वार्टरमा बस्ने स्वास्थ्यकर्मीहरुलाई समेत समस्या भइरहेको छ ।
बासुलिङ्ग स्वास्थ्यचौकीमा एक बर्षमा ४० जना महिलाहरुले सुरक्षित प्रसूती सेवा लिएका छन् । पानीको अभावमा सुरक्षित प्रसूती सेवा प्रदानमा निकै असहजता भएको अनमी बोहराको भनाइ रहेको छ ।
बासुलिङ्ग स्वास्थ्यचौकीमा सुर्नया गाउँपालिका वडा नं २ र ३ का सेवाग्राही बढीजसो आउने गरेका छन् । तर सडक नजिकैको स्वास्थ्यचौकी भएकाले अन्यत्रका बिरामीहरु समेत आउने गरेको स्वास्थ्यचौकी प्रमुख बिष्टले बताए ।
चालक नहुँदा एम्बुलेन्स पनि थन्कियो
बासुलिङ्ग स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवा पनि चालक नहुँदा अवरुद्ध भएको छ । चालकको अभावमा स्वास्थ्यचौकीको प्रांगणमा एम्बुलेन्स थन्किएको स्वास्थ्यचौकी प्रमुख बिष्टले बताए ।
गएको ४ महिनायता चालक नहुँदा एम्बुुलेन्स थन्किएको छ भने सेवाग्राहीलाई समस्या भएको छ ।
सुर्नया गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई अयन्त्र रेफर गर्नुपरेमा एम्बुलेन्स निशुल्क उपलब्ध गराउने नीति लिएको छ । तर स्वास्थ्यचौकीकै एम्बुलेन्स चालकको अभावमा थन्किएको छ ।
जटील खालका गर्भवती तथा सुत्केरी आमाहरुलाई एम्बुलेन्स सेवा दिन समस्या भइरहेको स्वास्थ्यचौकी प्रमुख बिष्टले बताए ।
चार महिनादेखि एम्बुलेन्स सञ्चालनमा नआउँदा इन्जिनमा समेत समस्या आउन सक्ने देखिएको छ । एम्बुलेन्सको ब्याट्रीमा समस्या आइसकेको छ । लामो समयदेखि एम्बुलेन्स ठप्प हुँदा समेत कसैको ध्यान गएको छ ।
यस्तै सुर्नया –२ स्थित बासुदेव आधारभूत स्वास्थ्य केन्द्रमा पनि एम्बुलेन्स रहेको छ । उक्त एम्बुलेन्स पनि चालकको अभावमा थन्किएको छ ।
सुर्नया गाउँपालिकासंग भएका तीनओटा एम्बुलेन्समध्ये एउटामात्रै सञ्चालनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।