बैतडी–सुदूरपश्चिम प्रदेश सरकारले अछामका बाकावीर र कैलालीका लोकराज ढकाललाई शहीद घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले अछामको ककड शान्ता मोतिपुरकोटमा जन्मिएका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरका लोकराज ढकाललाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले उनीहरूको योगदानको कदर गर्दै शहीद घोषणा गर्न सिफारिस गरिएको जनाएको छ । बाकावीरलाई जिल्ला समन्वय समिति अछाम र लोकराज ढकाललाई लम्कीचुहा नगरपालिकाबाट प्राप्त सिफारिसका आधारमा यो निर्णय गरिएको हो ।
बाकावीरको वास्तविक नाम बलदेव शाह भए पनि उहाँको बहादुरीका कारण “बाकावीर” उपनामले चिनिनुहुन्छ । उहाँले अछाममा राणाहरूको अन्याय र शोषणविरुद्ध विद्रोह गर्दै आफ्नो जीवन अर्पण गर्नुभएको थियो । वि.सं. १९०६ मा राणाविरुद्धको संघर्षको क्रममा बाकावीरले सहादत प्राप्त गर्नुभएको इतिहासकारहरू बताउँछन् । उहाँको बहादुरीले आज पनि स्थानीय जनतामा प्रेरणा प्रदान गरिरहेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरमा जन्मिएका लोकराज ढकाल सशस्त्र द्वन्द्वको समयमा विद्रोही माओवादी पक्षबाट मारिने पहिलो व्यक्ति हुनुहुन्थ्यो । वि.सं. २०५५ माघ ४ गते उहाँलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या गरिएको थियो । तरुण दल कैलालीका सदस्यसमेत रहेका ढकाल लोकतान्त्रिक आन्दोलनमा सक्रिय व्यक्तित्व हुनुहुन्थ्यो ।
सुदूरपश्चिम प्रदेश सरकारले यी दुई व्यक्तित्वहरूको बलिदान र योगदानको सम्मानस्वरूप गृह मन्त्रालयमा शहीद घोषणाका लागि सिफारिस पठाएको हो ।
उहाँहरूको स्मरणमा सरकारले मात्र होइन, आम नागरिकले पनि उहाँहरूको योगदानलाई आत्मसात् गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि योगदान दिनुपर्ने प्रदेश सरकारले बताएको छ ।