Sagun Khabar
दार्चुलाको ठड्याभीरमा पहिरो खस्दा जेसीबी महाकाली किनारमा हुत्तियो, चालक घाइते 

दार्चुला –दार्चुलाको महाकाली नगरपालिका–५ ठड्याभीरमा सडक चौडा पार्ने क्रममा पहिरो खस्दा जेसीबी हुत्तिएर महाकाली किनारमा पुगेको छ । महाकाली लोकमार्ग अन्तर्गत ठड्याभीरमा सडक चौडा पार्ने काम भइरहेको छ । 

उक्त सडक चौडा पार्ने काम चलिरहेकै बेला सडकमाथिबाट खसेको सुख्खा पहिरोले काम गरिरहेको जेसीबी चालकसहित महाकाली नदी किनारमा हुत्तिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । शुक्रबार बिहान सवा ५ बजेतिर पहिरो खसेको हो । 

Atrya hospital

जेसीबीमा पहिरो खसेपछि जेसीबी चालक जाजरकोटको जुनीचाँदेका २६ बर्षीय रेशम बुढा घाइते भएका छन् । उनको खुट्टामा चोट रहेको छ । उनलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याएको प्रहरी निरीक्षक जोशीले बताए । 

पहिरो कारण जेसबी हुत्तिएर करीब ३० मिटर तल महाकाली नदी किनारमा खसेको प्रहरी निरीक्षक जोशीले बताए । 

पहिरोका कारण अहिले उक्त क्षेत्रमा सडक अवरुद्ध रहेको छ । अहिले पनि सुख्खा पहिरो खसीरहेकाले सडक अवरुद्ध रहेको प्रहरी निरीक्षक जोशीले बताए । उक्त सडक अवरुद्ध हुँदा दार्चुला सदरमुकामबाट बाहिरने र सदरमुकाम भित्रिने सवारी साधन बीचबाटोमै रोकिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update