Sagun Khabar
बैतडी सहित सुदूरपहाडमा नरहरी पर्व मनाइँदै

बैतडी - बैतडी सहित सुदूरपहाडमा नरहरी पर्व मनाइँदै छ । मकर सक्रान्तिलाई सुदूरपश्चिमका पहाडी क्षेत्रमा नरहरी सक्रान्तिको रुपमा मनाउने चलन रहीआएको छ । नरहरी पर्वमा पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ ।

माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको स्थानीय संस्कृतिका जानकार खेम राज भट्टले बताए । माघ महिनालाई धार्मीक महिना मान्ने प्रचलन रहेको पनि उनले बताए । बैतडी सहित सुदूरपहाडमा नरहरी पर्वको समयमा चामलको रोटी (माडा), झुनमुने तरुल लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको छ ।

Atrya hospital

मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिएको स्थानीय प्रविन धामीले  बताए ।माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ । कागलाई खबर आदानप्रदान गर्ने पंक्षिको रुपमा चिनिन्छ ।

यसलाई  यमराजको सन्देश वाहकका रुपमा पनि पूजा गरिन्छ । पौष मसान्तमा तरुल खन्न जाने  र राति पकाएर सबै एकै ठाउँमा बसेर  खाने चलन  रहिआएको छ । आज देखि  नै माघस्नान समेत सुरु भएको  छ । माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौदेखि चलिआएको प्रचलन रहेको  छ ।

 सुदूरपहाडमा माघे सक्रान्ति नरहरीलाई हर्षाेउल्लास तरिकाले मनाइँदै छ । यो पर्वमा कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गरेका र बिबाहित महिलाहरु माइती घर  आउने भएकाले  रमाइलो  हुने  गरेको  स्थानीय  पवन भट्टले  बताए । यस्तै आज  बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ  । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update