दार्चुला –दार्चुलाका एक युवक जबरजस्तीकरणी अभियोगमा भारतमा जेल परेका छन् ।
भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाको न्यायालयले दार्चुलाको खलंगा ठेगाना भएका रवि सिंह नाम गरेका ३३ वर्षीय युवकलाई २० वर्ष कारावासको सजाय सुनाएको छ । मजदुरी गर्न भारत गएका उनले १४ वर्षीया बालिकालाई पाँच दिनसम्म बन्धक बनाएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो ।
प्रहरीले २०७७ भदौमा जबरजस्तीकरणी आरोपमा रविलाई पक्राउ गरी अनुसन्धान थालेकोमा चार वर्षपछि फैसला आएको पिथौरागढका जिल्ला शासकीय अधिवक्ता प्रमोद पन्तले बताए ।
रविलाई दोषी ठहर गर्दै अदालतले २० वर्षको सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको छ ।
१६ वर्षमुनिका बालबालिकाहरूमाथि हुने अपराधसम्बन्धी विशेष कानुनअनुसार पिथौरागढ जिल्लाका ‘न्यायालय विशेष सत्र न्यायाधीश (पोक्सो)’ शंकर राजले उक्त फैसला सुनाएका हुन् ।