बैतडी–बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीले बिशेषज्ञ सेवा दिन थालेको छ । दुर्गमका नागरिकहरुलाई घरदैलोमै बिशेषज्ञ सेवा दिने उद्देश्यले स्मार्ट हेल्थसंग सम्झौता गरिएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए ।
पञ्चेश्वर गाउँपालिकाले पञ्चेश्वर स्वास्थ्यचौकीमार्फत बिशेषज्ञ सेवा सञ्चालन गर्नका लागि स्मार्ट हेल्थसंग सम्झौता गरेको सार्कीले बताए । सम्झौता अनुसार बिशेषज्ञ चिकित्सकहरुले अनलाइनबाटै सेवा दिने बताइएको छ ।
बिरामी स्वास्थ्यचौकीमा दर्ता भएपछि बिहान ७ बजेदेखि साँझ सातबजेसम्म चिकित्सकहरुले अनलाइनबाटै सेवा दिने उनले बताए । यसका लागि भिडियो कलमार्फत डाक्टरहरुले बिरामीहरुलाई हेर्नेछन् । उनीहरुले अनलाइनबाटै आवश्यक औषधि समेत सिफारिश गर्ने सार्कीले बताए । उनले भने,‘अनलाइनबाट बिशेषज्ञ चिकित्सकहरुले सेवा दिने काम शुरु गरेका छन् । प्रत्येक डाक्टरहरुको डिउटी टाइम तोकिएको छ ।’
स्वास्थ्यचौकीबाट बिशेषज्ञ सेवा शुरु भएपछि समान्य रोगको उपचारका लागि समेत बाहिर जानुपर्ने स्थानीय नागरिकको बाध्यताको अन्त्य भएको छ । घरदैलोको स्वास्थ्य संस्थामा बिशेषज्ञ सेवा पाइन थालेपछि नागरिक पनि खुसी भएका सार्कीले बताए ।
पञ्चेश्वर स्वास्थ्यचौकीमा डाक्टरहरुले इमरजेन्सी र ओपडी दुवै सिफ्टमा सेवा दिने बताइएको छ । यसका लागि डाक्टरहरुको सूची समेत तयार पारिएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । स्मार्ट हेल्थसँगको सम्झौता अनुसार ओपिडी र इमरजेन्सीमा उपलब्ध हुने डाक्टरहरुको सूची तयार पारिएको सार्कीले बताए । उनले भने,‘हामीले सम्झौता अनुसार ओपिडी र इमरजेन्सीमा सेवा दिने डाक्टरहरुको सूची तयार पारेका छौं ।सोही सूची अनुसार डाक्टरहरुले सेवा दिनेछन् ।’
अत्यावश्यक अप्रेशन गर्न बाहेक अन्य स्वास्थ्य सेवाका लागि बिरामीहरुले अब अन्यत्र जानु नपर्ने सार्कीले बताए । चिकित्सकहरुले अनलाइनबाटै बिरामीहरुको रोगको निदान गर्ने र औषधि सिफारिश गर्ने उनले बताए ।
यसका लागि पञ्चेश्वर गाउँपालिकाले स्मार्ट हेल्थसँग बार्षिक ५ लाख रुपैयाँको सम्झौता गरेको छ । अब डाक्टरहरुले बर्षदिनसम्म अनलाइनबाटै सेवा दिनेछन् ।
सेवालाई प्रभावकारी र विश्वसनीय बनाउन तालिम सञ्चालन गरिएको र तालिमपछि आइतबारदेखि सेवा सञ्चालन गरिएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए ।