बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो सामग्री वितरण गर्नुका साथै सम्मान गरेको छ ।
नगरपालिकाका ११ ओटै वडामा रहेका ८५ बर्षभन्दामाथिका जेष्ठ नागरिकहरुलाई सम्मानका साथै न्यानो सामग्री वितरण गरिएको दशरथचन्द नगरपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लिला कुँवरले बताइन् ।
जेष्ठ नागरिकलाई सम्मान र न्यानो सामग्री वितरण कार्यक्रम अन्तगर्त ११ ओटै वडामा घरघरमै पुगेर जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो सामग्री वितरण गरिएको उनले बताइन् ।
कार्यक्रम अन्तर्गत ११ ओटै वडामा ७४ जना महिला र ४३ जना पुरुष गरेर १ सय १७ जना जेष्ठ नागरिकलाई न्यानो सामग्री वितरणका साथै सम्मान गरिएको हो । कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति एक सिरक र थर्मस वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान व्यक्त गरिएको छ ।
जेष्ठ नागरिकहरुलाई सम्मान गर्न र न्यानो सामग्री वितरणका लागि नगरपालिकाकी उपप्रमुख कौशिला चन्द नेतृत्वको टोली वडा अध्यक्ष र कर्मचारीसहित घरघरमै पुगेका थिए । जेष्ठ नागरिकहरुलाई सम्मान गर्न, उनीहरुलाई स्थानीय सरकारको अनुभूती गराउन र उनीहरुका अनुभवबाट पाठ सिक्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन्, ‘यो कार्यक्रमले जेष्ठ नागरिकप्रतिको सम्मान र सदभाव बढेको छ । समाज र परिवारले जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कृतिमा थप बल पुग्ने हाम्रो अपेक्षा छ ।’
जेष्ठ नागरिकलाई सम्मान गर्नका लागि मापदण्ड बनाएर सम्मान गर्नुकासाथै सामग्री वितरण गरिएको उपप्रमुख चन्दले बताइन् ।
नगरपालिकाले सञ्चालन गरेको जेष्ठ नागरिक सम्मान र सामग्री वितरण कार्यक्रमले जेष्ठ नागरिकहरु खुसी भएका दशरथचन्द नगरपालिका–११ का वडा अध्यक्ष जयदत्त पन्तले बताए । घरमै पुगेर नगर सरकारकातर्फबाट सम्मान पाउँदा उनीहरु हर्षित भएका उनले बताए ।