
बैतडी–बैतडीमा बालविवाह न्यूनीकरणका लागि धार्मिक अगुवाहरुलाई सक्रिय बनाउन थालिएको छ । बालविवाह रोक्नका लागि धार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुलाई सक्रिय बनाउन थालिएको हो ।
धामीझाँक्री, पण्डित, पूजारीहरुलाई बालविवाह न्यूनीकरणको अभियानमा जोडिएको बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको संस्था परोपकार ग्रामीण विकास संघले जनाएको छ ।
बालविवाह अन्त्यका लागि गल्र्स फस्ट फण्डको सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको संघले धार्मिक अगुवाहरुसंग अन्तरक्रिया र छलफल गर्ने गरेको कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् ।
समाजमा अझै पनि विभिन्न कारणले बालविवाह भइरहेकाले यसको अन्त्यका लागि धार्मिक अगुवाहरुसंग छलफल गर्ने गरिएको बताइन् ।
आइतबार पाटनमा धार्मिक अगुवाहरुसंग बालविवाह अन्त्यका लागि अन्तरक्रियात्मक छलफल गरिएको र यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन् । उनले भनिन्, ‘बालविवाह एक सामाजिक समस्याका रुपमा रहेको छ । यसको अन्त्यका लागि हामीले विभिन्न पक्षहरुसंग मिलेर काम गरिरहेका छौं । हामीले बालविवाह न्यूनीकरणमा धार्मिक अगुवाहरुलाई पनि सक्रिय बनाउने काम गरिरहेका छौं ।’
समाजमा हुने बालविवाह अन्त्यका लागि प्रतिष्ठित धामी समूहले सदैव सहयोग गरिरहेको समूहका सचिव हरिप्रसाद जोशीले बताए । हिन्दू धर्मले समेत बालविवाहको विरोध गरेको उनले बताए ।
बालविवाह अन्त्यका लागि परोपकार ग्रामीण विकास संघले गरिरहेको कार्यक्रममा आफूहरुको साथ रहेको बताउँदै जोशीले बालविवाह कानुनी अपराध हो भन्ने कुरा सबैले जान्नुपर्नेमा जोड दिए । उनले भने,‘हामीले बालविवाह अन्त्यका लागि पहिलादेखि पहल गरिरहेका छौं । परोपकार ग्रामीण संघले पनि हामीलाई एकै ठाउँमा बोलाएर राम्रो काम गरेको छ । हामी सबैले बालविवाह अन्त्यको अभियानमा लाग्नुपर्छ ।’
धार्मिक अगुवाहरु समाजका प्रतिष्ठित व्यक्ति भएकाले बालविवाह न्यूनीकरणमा उनीहरुको भूमिका महत्वपूर्ण हुने पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना समेत बनाइसकेको बताउँदै यसमा संघले गरिरहेको कामले सफलता प्राप्त गर्ने बताए ।
परोपकार ग्रामीण विकास संघले पाटन नगरपालिका वडा नं २ र ६ मा बालविवाह न्यूनीकरण र किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष लोकेन्द्रप्रसाद पन्तले बताए ।