Sagun Khabar
घरघरमै जेष्ठ नागरिकलाई न्यानो सामग्री वितरण गर्दै दशरथचन्द नगरपालिका 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले घरघरमै पुगेर जेष्ठ नागरिकहरुलाई न्यानो सामग्री वितरण गरिरहेको छ । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामार्फत जेष्ठ नागरिकहरुलाई न्यानो सामग्री वितरण भइरहेको हो । 

८५ बर्षमाथिका नागरिकलाई सिरक र थर्मस वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्ने गरिएको दशरथचन्द नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लीला कुँवरले बताइन् । 

Atrya hospital

जेष्ठ नागरिकलाई सम्मान र सामग्री वितरण कार्यक्रम अन्तर्गत प्रत्येक वडामा घरघरमै पुगेर न्यानो सामग्री वितरण गर्नुका साथै सम्मान गर्ने गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन् ‘जेष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यसहित हामीले घरघरमै पुगेर सामग्री वितरण र सम्मान गरिरहेको छौं । जेष्ठ नागरिकलाई स्थानीय सरकारको आभाष दिलाउन हामीले प्रयत्न गरिरहेका छौं । हाम्रो सानो प्रयासले जेष्ठ नागरिकहरु खुसी भएका छन् ।’

अहिलेसम्म वडा नं २, ५,७,८ र १० मा जेष्ठ नागरिकहरुलाई न्यानो सामग्री वितरण गर्नुका साथै सम्मान गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कुँवरले बताइन् । वडा नं २ मा ११ जनालाई सम्मान र सामग्री वितरण गरिएको छ भने अन्य वडाहरुमा ९÷९ जनालाई सम्मान गर्नुका साथै सामग्री वितरण गरिएको उनले बताइन् । 

दशरथचन्द नगरपालिका –७ मा एकजना १ सय ८ बर्षीय वृद्धालाई सम्मान र सामग्री वितरण गरिएको उपप्रमुख चन्दले बताइन् । घरघरमै गएर नागरिकलाई सामग्री वितरण गर्ने कार्यक्रममा शताब्दी पुरुषहरुसंग पनि भेट भएको र यसले धेरै कुरा सिकाएको उपप्रमुख चन्दले बताइन् । 

दशरथचन्द नगरपालिका–७ का सुर्काली १ सय ८ बर्षीया बिरमादेवी बडूलाई न्यानो सामग्री वितरण गर्नुका साथै सम्मान समेत गरिएको उपप्रमुख चन्दले बताइन् । उनले भनिन् ‘हामीले सामग्री वितरण गर्ने क्रममा १ सय ८ बर्षीया वृद्धा आमालाई सम्मान गर्ने अवसर पायौं । यसले हामीलाई धेरै फाइदा भएको छ । यो कार्यक्रमले जेष्ठ नागरिकहरु पनि खुसी भएका छन् ।’

नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने मापदण्ड बनाएर उनीहरुलाई न्यानो सामग्री र सम्मान गर्ने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरीदत्त भट्टले बताए । 

यो कार्यक्रमले घरपरिवार र समाजमा पनि ज्येष्ठ नागरिकप्रति सद्भाव बढेको दशरथचन्द नगरपालिका –२ का  वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update