
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नन्दराज जोशीलाई दिइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामी शाखा अधिकृत पदमा सिफारिश भएपछि दोगडाकेदार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो । गाउँकार्यपालिकाको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) अनुसार जोशीलाई प्रमुख प्रशासकीय अधिकृत पदमा काम गर्न भनिएको छ । मन्त्रालयले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाउँदा सम्म वा अर्को व्यवस्था नहुँदा सम्मका लागि आर्थिक प्रशासनिक जिम्मेवारी दिएको उल्लेख गरेको छ । यही पौष ५ गतेको निर्णय अनुसार जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको मन्त्रालयले जनाएको छ ।
जोशी गाउँपालिका अन्तर्गत देउलेक स्वास्थ्यचौकीको प्रमुखको रुपमा कार्यरत रहेका थिए । जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएसंगै पालिकाका आर्थिक तथा प्रशासनिक कामहरु अघि बढेका छन् ।