
बैतडी–बैतडीमा वडा र पालिका सम्मेलनमा जुटेको नेकपा माओवादी केन्द्रले चारओटा स्थानीय तहमा सम्मेलन सम्पन्न गरेको छ ।
पौष महिनाभित्र सबै पालिका र वडाको सम्मेलन सम्पन्न गर्ने कार्ययोजना अनुसार सम्मेलन भइरहेको माओवादी केन्द्र बैतडीका जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
अहिले सम्म पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सम्मेलन सम्पन्न भएको छ । डिलाशैनी गाउँपालिकामा ४५ सदस्यीय गाउँकमिटि गठन गरिएको भएपनि नेतृत्व भने चयन हुन बाँकी रहेको माओवादी केन्द्रका प्रदेश कमिटि सचिवालय सदस्य प्रेमप्रकाश भट्टले जानकारी दिए ।
पुर्चौंडी नगरपालिकामा शैलेन्द्र धानुकको अध्यक्षतामा नगर कमिटि गठन गरिएको छ भने मेलौली नगरपालिकामा खेमराज भट्टको अध्यक्षतामा कमिटि गठन गरिएको भट्टले बताए ।यस्तै दोगडाकेदार गाउँपालिकामा चन्द्रदेव जोशीको अध्यक्षतामा गाउँ कमिटि गठन गरिएको छ ।
जिल्लाको सुर्नया गाउँपालिकामा पौष १० गते र पाटन नगरपालिकामा पौष ११ गते सम्मेलनको तयारी भएको माओवादी केन्द्रका बैतडी इञ्चार्ज नरेन्द्र कुँवरले बताए । अन्य पालिकाहरुको सम्मेलनको मिति तय हुन बाँकी रहेको छ ।
पार्टीको संगठन विस्तार र पुनर्जागरणका लागि पालिका र वडा सम्मेलनमा तीव्रता दिइएको माओवादी केन्द्र बैतडीले जनाएको छ । सबै पालिका र वडामा पौष मसान्तभित्र सम्मेलन गरिसक्ने योजना रहेको संयोजक भण्डारीले बताए ।