
बैतडी–बैतडीका ग्रामीण क्षेत्रमा हुने अवैध कारोबारले दिनदिनै समस्या निम्त्याइरहेको छ । जिल्लाका दुर्गम ठाउँहरुमा समेत छ्यापछ्याप्ती मदिराको कारोबार हुने गरेको स्थानीयहरुले बताएका छन् ।
गरिबी र अभावको पीडामा रहेका समुदायमा मदिराले झन् समस्या निम्त्याएको सिगास गाउँपालिका–१ गवाँडीखोलाकी कमलाकुमारी टमाटाले बताइन् । गाउँको बीचमा रहेको मदिरा पसलले गाउँमा बस्न नसक्ने अवस्था रहेको उनले सुनाइन् । दैनिक छाक टार्न समेत मुस्किल भएको ठाउँमा मदिराको कारोबारले झन् समस्या निम्त्याएको उनले बताइन् । उनले भनिन् ‘वैधानिक भएपनि गाउँभन्दा बाहिर कारोबार गर्ने व्यवस्था गर्नुपर्यो । गाउँघरमा हुने मदिराको कारोबारले समस्यमाथि समस्या थपेको छ । यसका लागि स्थानीय सरकारहरुले केही गरिदिनु पर्यो ।’
ग्रामीण क्षेत्रमा हुने मदिराको कारोबारले महिलामाथि हुने हिंसाका घटना बढ्नुका साथै बालबालिकाहरुमाथि समेत प्रत्यक्ष असर परिरहेको टमाटाले बताइन् । मदिराकै कारण घर–घरमा दिनरात झगडाको अवस्था सिर्जना भएको उनले बताइन् ।
मदिराको अवैध र अनियन्त्रित कारोबारले गाउँघरमा समस्या पैदा गरेको सुर्नया गाउँपालिका–८ ढोलेकी कलावती बोहराले बताइन् । मदिरा नियन्त्रणका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले बताइन् । उनले भनिन्, ‘हामीले महिला उद्यमी समूहको अगुवाईमा सरोकारवालाहरुको समेत सहभागितामा मदिरा निषेधित क्षेत्र घोषणा गरेका थियौं । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् ।’
ग्रामीण क्षेत्रमा भइरहेको मदिराको कारोबारले हिंसाका घटना बढ्नुका साथै गरिबी समेत बढाइरहेको छ । त्यसैमा मदिराको सेवनले मानिसहरुको स्वास्थ्यमा नकारात्मक असर पारेको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बीरबहादुर बोहराले बताए । ग्रामीण क्षेत्रमा अवैध रुपमा हुने मदिराको कारोबार रोक्न नसके यसले ठूलो समस्या निम्त्याउने उनले बताए ।
ग्रामीण क्षेत्रमा हुने मदिराको कारोबारमा स्थानीय सरकारहरुले अंकुश लगाउन नसके यसले ठूलो समस्या निम्त्याउने सिगास–२ की हरमती धामीले बताइन् । मदिराकै कारण ग्रामीण क्षेत्रमा हिंसा र अपराधका घटना बढ्दै गएका उनले बताइन् ।