
बैतडी–रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक जना युवकको मृत्यु भएको छ ।
जिल्लाको शिवनाथ गाउँपालिका –१ स्वाल घर भई हाल भारतको हिमाञ्चलमा काम गर्दै आएका अन्दाजी ३७ बर्षीय सुरेशराम सुनीको मृत्यु भएको स्थानीय दशरथ चाडले जानकारी दिए ।
परिवार सहित गएको ३ बर्ष यता हिमाञ्चलमा बस्दै आएका सुनीको बुधबार बिहान ९ बजेतिर रुखले च्यापिएर मृत्यु भएको उनले बताए । रुख काट्ने क्रममा उक्त रुखमुनि च्यापिएर सुनीको मृत्यु भएको बताइएको छ ।
मृतक सुनीका श्रीमती, तीन छोरी र दुई छोरा रहेका छन् । सुनीको मृत्यु भएपछि उनको परिवार विचल्लीमा परेको छ ।
सुरेशको मृत्यु भएपछि त्यहाँ भएका आफन्तहरुको सहयोगमा उनको परिवारलाई नेपाल पठाउने तयारी गरिएको छ । घरको कमाउने मान्छेको निधन भएपछि सुनी परिवार विचल्लीमा परेको हो ।
उक्त पीडित परिवारलाई सहयोगका लागि सबैसंग आग्रह समेत गरिएको चाडले बताए ।