
बैतडी–बैतडीमा पनि २५ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार भन्ने मुल नाराका साथ दशरथचन्द नगरपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया गरेर दिवस मनाएको हो ।
चालु आर्थिक वर्षदेखि नगरपालिकाले सुरक्षित आप्रवासन कार्यक्रम संचालनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई मार्यादित र व्यवस्थित बनाउन सुरक्षित आप्रावासन कार्यक्रम संचालनमा ल्याइएको दशरथचन्द नगरपालिकाका रोजगार शाखा प्रमुख नन्दराज जोशीले बताए ।
पछिल्लो समयमा रोजगारीका लागि विदेश जानेहरुको संख्या बढ्दै गएको छ । तर उपयुक्त सीप र ज्ञानको अभावमा उनीहरुले विभिन्न समस्या समेत झेलीरहेका छन् । वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई आवश्यक परामर्श र सीप दिनका लागि सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालनमा ल्याइएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् ।
नगरपालिकाको रोजगार शाखाले गत आर्थिक बर्षमा दुई जनालाई श्रम स्वकृती दिएको, ११ जनालाई पुनः श्रम स्वीकृती दिएको, वैदेशिक रोजगारीको सिलसिलमा मृत्यु भएका एकजनाको शव नेपाल ल्याउन पहल गरेको, विदेशमा मृत्यु भएका दुईजनालाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहयोग उपलब्ध गराउन पहल गरेको जनाएको छ ।
आगामी दिनमा समेत सुरक्षित र मार्यादित वैदेशिक रोजगारीका लागि रोजगार शाखाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जोशीले बताए ।