डडेल्धुरा –डडेल्धुराको परशुराम नगरपालिकामा मेयर सम्मेलन हुने भएको छ ।
यही पौष १५ र १६ गते सम्मेलनको आयोजना गर्ने तयारी भएको परशुराम नगरपालिकाले जनाएको छ ।
सुदूरपश्चिमको बृहत् विकासका प्राथमिकता, सम्भावना, अवसर र चुनौतीका विषयमा विमर्श गरी आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले प्रथम मेयर सम्मेलनको आयोजना गर्ने तयारी भएको परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले जानकारी दिए ।
स्थानीय तहबीचको समन्वय र सहकार्यमार्फत यहाँको विकास प्रवर्द्धनका लागि सङ्गठित आवाज मुखरित गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।
सम्मेलनले प्रमुख सरोकारवाला, विषय विज्ञ, स्थानीय, प्रादेशिकलगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा राखी सुदूरपश्चिमको बृहत् विकासका लागि सहयोग बढाउन, विकासका नवीन आयामबारे विचार आदानप्रदान र दिगो रणनीतिहरू निर्माण गर्न मञ्च प्रदान गर्ने अपेक्षा गरिएको मेयर जोशीले बताए ।
नगरप्रमुख जोशीले सम्मेलनकै अवसरमा परशुराम धामसँग जोडिएको महाकाली नदीमा ‘¥याफ्टिङ’ उद्घाटन र सुदूरपश्चिम प्रदेशका प्रत्येक नगरपालिका र गाउँपालिकाका लागि ‘ट्रि गार्ड’सहित ८८ रुद्राक्षका रूख रोप्ने योजनासमेत रहेको जानकारी दिए ।