Sagun Khabar
बैतडीमा पासोमा परेको चितुवा भाग्यो 

बैतडी–बैतडीमा पासोमा परेको चितुवा भागेको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं कुमालीगाड भन्ने स्थानमा थापेको पासोमा सोमबार राति चितुवा फसेको थियो । जंगली बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा परेको हो । 

Atrya hospital

पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली आएको भएपनि मंगलबार राति चितुवा पासो चुँडालेर भागेको डिभिजन वन कार्यालयका वन अधिकृत नरेशचन्द्र कर्णले बताए । 

चितुवाको घाँटी पासोमा परेको थियो । मंगलबार दिनभरी पासोमै रहेको चितुवाको घाँटीमा ठूलो घाउ परेको छ । मंगलबार रातिको समयमा पासोमा फसेको चितुवा भागेको बताइएको छ । चितुवा घाइते भएको हुनाले स्थानीयबासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको वन अधिकृत कर्णले बताए । 

चितुवाको घाँटीमा ठूलो घाउ भएकाले चितुवा मर्न सक्ने अनुमान समेत गरिएको छ । 

यसअघि गएको असोज १२ गते बैतडीको दशरथचन्द नगरपालिका –१ खालमा पनि पासोमा परेको चितुवा पासो चुँडालेर भागेको थियो । असोज ११ गते पासोमा फसेको चितुवा दोश्रो दिन भागेको थियो । 

जंगली जनावरबाट बालीनाली जोगाउनका लागि स्थानीय किसानहरुले पासो थाप्दै आएका छन् । पासोमा परेर चितुवा घाइते हुने क्रम बढेको छ भने केही ठाउँमा पासोमा फसेर चितुवा मरेका घटना समेत रहेका डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update