
बैतडी–बैतडीको सिगासमा दिगो आम्दानीमार्फत महिला उद्यमीहरुको सशक्तीकरण परियोजनाले एक बर्षको अवधिमा ४२ लाख बढी खर्च गरेको छ ।
एफसिए नेपालको आर्थिक सहयोगमा सामाजिक चेतना तथा विकास संघ (साडा) नेपालले सञ्चालन गरिरहेको परियोजना अन्तर्गत एक बर्षको अवधिमा ४२ लाख ३६ हजार ५४८ रुपैयाँ खर्च भएको जानकारी दिइएको छ ।
मंगलबार सिगासको गाँजरीमा सामाजिक लेखा परीक्षण गर्दै परियोजनामार्फत सञ्चालित क्रियाकलाप, खर्च र उपलब्धिका बिषयमा जानकारी दिइएको हो ।
परियोजनामार्फत सीमान्तकृत र जोखिममा परेका महिलाहरुको आर्थिक सशक्तीकरण, गरिबी न्यूनीकरण र लैंगिक समानता कायम गर्नका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको परियोजना संयोजक भूपाल बोहराले जानकारी दिए ।
परियोजना अन्तर्गत सिगास गाउँपालिकाका तीनओटा वडा १० ओटा महिला उद्यमी समूह रहेका र ती समूहका सदस्यहरुलाई विभिन्न किसिमका सीपमूलक तालिमहरु प्रदान गरिएको बोहराले बताए ।
यस्तै समूहमा आवद्ध महिलाहरुलाई तरकारीको बीऊ र प्रविधिमा सहयोग गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरणमा समेत परियोजनाले सहयोग गरेको उनले बताए । यस्तै महिलाहरुको नेतृत्वमा रहेका सहकारी संस्थाहरुको सुदृढीकरणका लागि परियोजनाले सहयोग गरेको छ भने उनीहरुको क्षमता विकास सहयोग गरेको बताइएको छ ।
परियोजनाले कृषक पाठशाला सञ्चालन गर्दै समूहमा आवद्ध सदस्यहरुलाई कृषि सम्बन्धि व्यवहारिक ज्ञान दिएको साडा नेपालकी प्राविधिक लक्ष्मी भट्टले बताइन् । उनले भनिन् ‘हामीले समूहमा आवद्ध महिलाहरुको जिविकोपार्जनमा सुधार ल्याउनका लागि आधुनिक कृषि प्रणालीका बिषयमा जानकारी दिने गरेका छौं ।’
परियोजनाले एक बर्षको अवधिमा सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका तीन÷तीन वडामा कार्यक्रम सञ्चालन गरेको साडा नेपालका प्राविधिक दिपेश धामीले बताए । यो परियोजनाले स्थानीयहरुलाई आधुनिक कृषि प्रणालीका बिषयमा जानकारी भएको उनले बताए ।
परियोजनामार्फत आफूहरुमा धेरै परिवर्तन आएको सिगास गाउँपालिका –१ गवाँडीखोलाकी कमलाकुमारी टमाटाले बताइन् । परियोजनामार्फत आफूले तरकारी खेती र अदुवाखेती गरेको र यसले आम्दानी भएको उनले बताइन् ।
यस्तै परियोजनाले आफूहरुका हक अधिकारका साथै जिविकोपार्जनको क्षेत्रमा ठूलो सहयोग पुर्याएको सिगास गाउँपालिका –९ की यशोदा चन्दले बताइन् ।
सामाजिक लेखा परीक्षणमा उठेका प्रश्नहरुको परियोजना संयोजक भूपाल बोहराले जवाफ दिएका थिए ।
यस्तै सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागी भएका सिगास गाउँपालिका वडा नं–१ का वडा अध्यक्ष रामचन्द्र ऐरीले यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्नेमा जोड दिए । साडा नेपालमार्फत सञ्चालित कार्यक्रमले महिलाहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्नुका साथै उनीहरुको जिविकोपार्जनको क्षेत्रमा समेत सहयोग पुगेको दाबी गरे । उनले भने, ‘स्थानीय सरकारको साझेदार संस्थाको रुपमा साडा नेपालले कार्यक्रम सञ्चालन गरिरहेको छ । यसले यो क्षेत्रका महिलाहरुको जिविकोपार्जमा ठूलो टेवा पुर्याएको छ । यस्ता कार्यक्रमहरुलाई अझै निरन्तर रुपमा सञ्चालन गर्नु आवश्यक छ ।’
सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागी भएका सिगास गाउँपालिका वडा नं –९ का वडा अध्यक्ष कृष्ण धामीले दुर्गम क्षेत्रका महिलाहरुको समग्र विकासमा परियोजनाले ठूलो सहयोग गरेको बताए । आगामी दिनमा परियोजनाका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
साडा नेपालले सञ्चालन गरेका कार्यक्रमहरुलाई प्रभावकारी र पारदर्शी बनाउन प्रत्येक ठाउँमा सामाजिक लेखा परीक्षणको आयोजना गर्ने गरिएको साडा नेपालका कार्यकारी निर्देशक कृष्ण ठगुन्नाले बताए । एफसीए नेपालको सहयोगमा सुर्नया र सिगासमा कार्यक्रम सञ्चालनमा रहेको र दुवै ठाउँमा सामाजिक लेखा परीक्षण सम्पन्न गरिएको उनले बताए ।