Sagun Khabar
बैतडीको पाटनमा आँखा शिविर : ४ सय ९३ जनाले सेवा लिए 

बैतडी– बैतडीको पाटनमा सम्पन्न भएको निशुल्क आँखा शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । 

रुइत फाउण्डेसनको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालन भएको शिविरमा २ सय ९० जना महिला र २ सय ३ जना पुरुषले सेवा लिएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्टले जानकारी दिए । 

Atrya hospital

दुर्गम क्षेत्रका नागरिकहरुलाई उनीहरुकै घरदैलोमा आँखा सम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो । 

शिविरमा आएका मध्ये १ सय १२ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने ७४ जनालाई निशुल्क चश्मा वितरण गरिएको नेत्र अधिकृत बिष्टले बताए । अन्य ३ सय ७ जनालाई आँखा परीक्षण गरेर औषधि वितरण गरिएको बिष्टले बताए । 

गेटा आँखा अस्पतालका निर्देशक डा.सुरेशराज पन्तको नेतृत्वमा रहेको टोलीले आँखाका बिरामीहरुको शल्यक्रिया र परीक्षण गरेको थियो । 

स्थानीयस्तरमै आँखा सम्बन्धी समस्याको जाँच र उपचार गर्न पाएपछि स्थानीय नागरिक खुसी भएका छन् । दुगर्म क्षेत्रमा सञ्चालन हुने यस्ता शिविरहरुले आफूहरुलाई सहज भएको सुर्नया –६ की कमला अवस्थीले बताइन् । 
गेटा आँखा अस्पतालले हरेक बर्ष सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा निशुल्क रुपमा आँखा शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरहरुबाट हजारौं नागरिक लाभान्वित हुने गरेका छन् । 

बैतडीमा यो पटक दोगडाकेदार र पाटनमा शिविर आयोजना गरिएको नेत्र अधिकृत बिष्टले बताए । दोगडाकेदारमा सञ्चालन भएको शिविरमा ४ सय ४८ जनाले सेवा लिएका थिए । ती मध्ये ९२ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update