Sagun Khabar
बैतडीका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गरिँदै 

बैतडी –बैतडीका १सय २९ ओटा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण शुरु भएको छ । एसइई परीक्षा सहभागी हुँदै आएका विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्न थालिएको हो । यसका लागि २१ जना विज्ञ खटिएका छन् । 

विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षणका लागि खटिएको टोलीमा शिक्षा क्षेत्रमा लामो समय काम गरेर सेवा निवृत्त भएका सहसचिव, उपसचिव, तत्कालीन जिल्ला शिक्षा अधिकारी र विभिन्न क्याम्पसका प्राध्यापक रहेका छन् ।

Atrya hospital

विज्ञ टोलीले गएको साता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेपछि कार्यक्षेत्रमा खटिएकोे शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हरिप्रसाद निरौलाले बताए  । विज्ञ टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिने छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षण भइरहेको केन्द्रका  निर्देशक निरौलाले जानकारी दिए ।  

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालसम्म देशभरीका करीब ६ हजार चार सय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरिसकेको छ । 

लगानी अनुसारको शैक्षिक गुणस्तर कायम भए नभएका बारेमा यस कार्यक्रमले सहयोग पुग्ने गुणस्तर परीक्षणमा खटिएका डा. चन्द्रप्रसाद लुइँटेलले बताए  । स्थानीय तहको पुनर्संरचनापछि शिक्षा क्षेत्रमा के कस्ता प्रभाव प¥यो ? भन्ने कुरा पनि यो अध्ययनले प्रस्ट्याउने उनले बताए । 

शैक्षिक गुणस्तर परीक्षण गर्दा विज्ञ टोलीका सदस्यले एउटा विद्यालयमा चार दिन बिताउने छन् । विद्यालयको बृहत् अनुगमनपछि ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्गीकरण हुने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । 

शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्य अनुरूप परीक्षणको काम भइरहेकाले यसले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update