Sagun Khabar
बैतडीको सुर्नयामा साडाको सामाजिक लेखा परीक्षण 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा सामाजिक चेतना तथा विकास संघ (साडा) नेपालले सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ । 

संस्थाले एफसीए नेपालको सहयोगमा सञ्चालन गरिरहेको ‘दिगो आम्दानीमार्फत महिला उद्यमीहरुको सशक्तीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएका कार्यक्रमहरुको सामाजिक लेखा परीक्षण सम्पन्न गरेको हो । 

परियोजनामार्फत सञ्चालित कार्यक्रमहरुले स्थानीयस्तरका नागरिकको जीवनमा ल्याएको परिवर्तन, परियोजना अन्तर्गत सञ्चालित क्रियाकलापहरुको बारेमा नागरिकको बुझाइ र आगामी दिनमा कार्यक्रमलाई प्रभावकारी बनाउन अपनाउन सकिने उपायका बारेमा जानकारी लिन सामाजिक लेखा परीक्षण सम्पन्न गरिएको कार्यक्रम संयोजक भूपाल बोहराले बताए । 

Atrya hospital

सुर्नया गाउँपालिका वडा नं –६ स्थित सिगास मावि मुसेमा सञ्चालन गरिएको सामाजिक लेखा परीक्षण कार्यक्रममा वडा अध्यक्ष मदनराज अवस्थी, वडा सदस्य देवबहादुर चन्द, पालिकाभित्रका महिला उद्यमी समूहका सदस्य लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नमा वडा अध्यक्ष अवस्थी र कार्यक्रम संयोजक भूपाल बोहराले जवाफ दिएका थिए । 

एक बर्षको अवधिमा सुर्नया गाउँपालिका वडा नं ६,७ र ८ मा परियोजनामार्फत विभिन्न कार्यक्रमहरुमा ४० लाख ३७ हजार ७५८ रुपैयाँ खर्च भएको कार्यक्रम संयोजक बोहराले जानकारी दिए । 

महिला उद्यमीहरुको क्षमता अभिवृद्धि, विभिन्न सीपमूलक तालिम सञ्चालन, सहकारी संस्थाहरुलाई सहयोग, दुग्ध उद्योग स्थापना लगायतका क्षेत्रमा उक्त रकम खर्च गरिएको साडा नेपालका प्राविधिक दिपेश धामीले बताए । 

सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागी भएकाहरुले परियोजनामार्फत सञ्चालित कार्यक्रमले आफूहरुको जीवनमा महत्वपूर्ण परिवर्तन आएको बताएका छन् । 

सरोकारवाला निकायहरुसंग आफ्ना मागहरु राख्न सक्ने क्षमताको विकास हुनुका साथै आधुनिक कृषि प्रविधिका बिषयमा परियोजनामार्फत सिकाइ भएको सुर्नया–७ की देवकी बिष्टले बताइन् । उनले भनिन् ‘यो परियोजनामार्फत धेरै सिकाइ भएको छ । हामीमा आत्मविश्वास बढेको छ । यताउता आँफै जान सक्ने भएका छौं । आधुनिक कृषि प्रविधिको जानकारी पाएका छौं ।’

परियोजनामार्फत सञ्चालन भएका क्रियाकलापहरुले सुर्नया–८ को ग्रामीण क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्न सफल भएको बताउँदै स्थानीय कलावती बोहराले उक्त कार्यलाई निरन्तरता दिन स्थानीय सरकार अग्रसर हुनुपर्ने बताइन् । 

कार्यक्रममा सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थीले साडा नेपालले स्थानीय सरकारको साझेदारको रुपमा रहेर काम गरेको र यसले स्थानीय नागरिकको जिविकोपार्जनमा सहयोग पुगेको बताए । उनले भने ‘स्थानीय सरकारको लक्ष्य र उद्देश्य परिपूर्ती गर्न साडा नेपालले सहयोग गरेको छ । यो परियोजनामार्फत स्थानीय नागरिकलाई धेरै फाइदा भएको छ ।’
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update