
बैतडी–बैतडीमा सम्पन्न २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणशैनी युवा क्लब(एनआरवाइसी)ले हात पारेको छ ।
आज सम्पन्न फाइनल खेलमा पञ्चकोटी युवा क्लबलाई १९९ रनले हराउँदै एनआरवाइसीले उपाधि हात पारेको हो ।
उपाधिसंगै एनआरवाइसीले १ लाख पुरस्कार प्राप्त गरेको छ भने पञ्चकोटीले ५० हजारमा चित्त बुझाएको छ ।
दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा २८६ रन बनायो । जसमा सुरज बोहराले शतकीय पारी खेले । म्यान अफ द फाइनल समेत भएका सुरजले अविजित १६९ रन बनाए । यस्तै सचिन भट्टले ४६ रनको योगदान गरे ।
पञ्चकोटीका गोविन्द थापा,सुमित बुडाल र सुरज बुडालले ३÷३ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको पञ्चकोटी १९.२ ओभरमा ८७ रनमा समेटियो । उसका जीवन कार्कीले सर्वाधिक ३४ रन बनाए ।
एनआरवाइसीका मदन चन्दले ५,राम चन्द र सचिन भट्टले २÷२ विकेट लिए ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेदेखि शुरु भएको यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौटको रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।
गत वर्ष सम्पन्न २० औ संस्करणको बिडिसिए कपको उपाधि निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियो ।