
बैतडी–बैतडीको पुर्चौंडीस्थित पुर्चौंडी बहुमुखी क्याम्पसले विद्यार्थी खोज्न समुदाय र विद्यालयमा अन्तरक्रिया तथा भेटघाट गरेको छ ।
नगरपालिकाभित्रका कक्षा १२ सम्म पढाई हुने विद्यालय र नजिकका समुदायमा विद्यार्थी खोज अभियान सञ्चालन गरिएको पुर्चौंडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोद भण्डारीले बताए ।
पछिल्लो समयमा उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थीको संख्या कम भएपछि समुदायमै गएर विद्यार्थीहरुलाई अभिप्रेरित गर्न अभियान सञ्चालन गरेको उनले बताए ।
तीनओटा टोली बनाएर पुर्चौंडी नगरपालिकाभित्रका समुदाय र विद्यालयमा तीनदिन अभियान सञ्चालन गरिएको क्याम्पस प्रमुख भण्डारीले बताए । उनले भने ‘हामीले उच्च शिक्षा अध्ययन गर्न चाहने तथा विविध कारणले क्याम्पसमा पुग्न नसकेकाहरुलाई उच्च शिक्षा हाँसिल गर्ने वातावरण बनाउन अभियान सञ्चालन गरेका हौं । यो अभियानले समुदायमा सकारात्मक प्रभाव पनि परेको छ ।’
अभियानले विद्यार्थीहरुलाई उच्च शिक्षा हाँसिल गर्नेतर्फ पे्ररित गरेको क्याम्पसका सहायक क्याम्पस प्रमुख नवराज जोशीले बताए । अभियानले पुर्चौंडी बहुमुखी क्याम्पसमा पढाई हुने बिषयका बारेमा समुदाय र विद्यार्थीहरुलाई जानकारी भएको उनले बताए ।
अभियानले स्नातक तह प्रथम बर्षमा भर्ना हुने विद्यार्थीको संख्यामा वृद्धि भएको क्याम्पस प्रमुख भण्डारीले बताए । यो अभियानमा क्याम्पसमा ४० भन्दा बढी विद्यार्थी भर्ना भएका उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पुर्चौंडी बहुमुखी क्याम्पसले शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायतर्फ स्नातक तहको पढाई सञ्चालन गर्दै आएको छ ।