बैतडी–सुदूरपश्चिम प्रदेशका थप दुई खेलाडीले मासिक रूपमा तलब पाउने भएका छन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रदेशबाट नियमित रूपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एक महिला र एक पुरुष खेलाडीलाई मासिक १५ हजारका दरले प्रोत्साहन रकम दिने भएको हो । मासिक रूपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दिपक बोहरा र बझाङकी अनु कडायत रहेकी सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुवै खेलाडीले मासिक रूपमा प्रोत्साहन रकम पाउनेछन् ।
यही मंसिर १ गतेदेखि लागू हुनेगरी दुवै खेलाडीलाई मासिक रूपमा प्रोत्साहन रकम दिनेगरी प्रायोजन सम्झौता भएको उनले बताए । सम्झौता भएसँगै एमबी ग्रुपले एक वर्षसम्म दिपक र अनुलाई मासिक रूपमा १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्नेछ । दिपक र अनुले सुदूरपश्चिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलीसकेका छन् ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान)बाट मासिक रूपमा सुदूरपश्चिम प्रदेशका पाँच खेलाडी प्रोत्साहन रकम पाउन छनोट भएका थिए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले तीन पुरुष र दुई महिला खेलाडीलाई छनोट गरेको हो ।
छनोट हुने पुरुष खेलाडीमा खडक बोहरा, किरन ठगुन्ना र शेर मल्ल तथा महिला खेलाडीमा सावित्री धामी र स्नेहा महरा रहेका छन् ।