
बैतडी–बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने सडक निर्माण कार्य शुरु भएको छ । सुर्नया गाउँपालिका –६ रीगास्थित भूमीराजमाण्डौंदेखि उक्त सडकको ट्रयाक खोल्ने कार्य आजदेखि शुरु भएको सडक निर्माण समितिका सचिव पदम कुँवरले बताए ।
उक्त सडकको ट्रयाक खोल्नका लागि चालु आर्थिक बर्षमा सुर्नया गाउँपालिकाले ४ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकमले उक्त सडकको झण्डै साढे चारसय मिटर ट्रयाक खोल्न सकिने सचिव कुँवरले बताए ।
उक्त सडकलाई रौलाकेदार धामसँग जोड्नका लागि प्रत्येक बर्ष बजेट विनियोजन गरेर पूर्णता दिने योजना रहेको सुर्नया गाउँपालिका वडा नं ६ का वडा सदस्य लोकेन्द्रबहादुर कुँवरले बताए । उक्त सडक निर्माण भएमा रौलाकेदारको दर्शनका लागि जाने भक्तजनहरुलाई सहज हुने उनले बताए ।
यस्तै उक्त सडक सुर्नया गाउँपालिका वडा नं ६ को घोगेडा हुँदै जाने भएकाले स्थानीय नागरिक पनि लाभान्वित हुने सडक निर्माण समितिका अध्यक्ष जगदीश कुँवरले बताए । उक्त सडकले घोगेडा बस्तीलाई सडक सञ्जालमा जोड्ने उनले बताए ।
वडा सदस्य लोकेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको सडक उद्दघाटन कार्यक्रममा सुर्नया गाउँपालिका वडा नं ६ का पूर्व वडा अध्यक्ष जयबहादुर कुँवर, अनिरुद्र मन्दिरका पूजारी खेमराज अवस्थी लगायत स्थानीय र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।