Sagun Khabar
बैतडीमा कांग्रेसको वडा सम्मेलन मेलौलीबाट शुरु 

बैतडी–बैतडीमा नेपाली कांग्रेसले वडा सम्मेलन शुरु गरेको छ । जिल्लाको मेलौली नगरपालिकाका वडाबाट वडा सम्मेलन शुरु गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

नेपाली कांग्रेसको विधान अनुसार जिल्ला कार्यसमितिले निर्णय गरेर वडा सम्मेलन शुरु गरिएको सभापति चन्दले बताए । 

शुक्रबार मेलौली नगरपालिका वडा नं २ र ३ मा वडा सम्मेलन सम्पन्न गरेको कांग्रेसले आज वडा नं ५ र ६ मा वडा सम्मेलन गरिरहेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष दिपेन्द्र ढुंगालले बताए । 

Atrya hospital

नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउन, क्रियाशील सदस्यता वितरण गर्न र पार्टीलाई विधान अनुसार अगाडि बढाउन वडा सम्मेलन तय गरिएका उनले बताए । 

सम्मेलन अन्तर्गत पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने, पार्टीमा नयाँ सदस्यहरुलाई आबद्ध गराउने, नेपाली कांग्रेसको नीति र विधानको बिषयमा जानकारी दिने, जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत २०४८ सालदेखि नेपाली कांग्रेसमा आवद्ध रहेका र ७० बर्ष पुगेका नागरिकलाई सम्मानपत्र प्रदान गर्ने गरिएको नेविसंघ अध्यक्ष ढुंगालले बताए । 

वडा सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पार्टीको संगठन विस्तारका लागि आफूहरु सक्रिय रहेको बताए । पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू लचकताकासाथ अघि बढीरहेको बताए । 

यस्तै पार्टीलाई चलायमान बनाउन सबैको सहयोग आवश्यक रहेको सभापति चन्दले बताए । वडा सम्मेलनमा सभापति चन्दकासाथै पार्टीका प्रदेश समिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको छ । 

बैतडीका ८४ ओटै वडामा आगामी फागुनभित्र वडा सम्मेलन गरिसक्ने लक्ष्य राखिएको छ भने त्यसपछि १० ओटै पालिकामा पालिका सम्मेलन गरिने नेविसंघ अध्यक्ष ढुंगालले बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update