Sagun Khabar
बैतडीको ज्ञानेश्वर माविका एक विद्यार्थीको निस्सासिएर मृत्यु 

बैतडी–बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निस्सासिएर मृत्यु भएको छ । 

जिल्लाको सुर्नया गाउँपालिका –५ घर भई हाल ज्ञानेश्वर माविमा प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ बर्षीय अपिल बिष्टको निस्सासिएर मृत्यु भएको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । 

Atrya hospital

डेरामा बस्दै आएका बिष्ट शुक्रबार राति खाना खाएपछि कोठामा सुत्न गएका थिए । एक्लै कोठामा बस्दै आएका उनले टिनको भाँडोमा आगोको कोइला समेत लगेर गएका र राति उनी निस्सासिएर मृत्यु भएको हुन सक्ने बताइएको छ । महराले भने,‘डेरामा बस्दै आएका बिष्ट टिनको भाँडोमा आगोको कोइला समेत लगेर कोठमा सुत्न गएछन् । ढोका लगाएर सुतेका उनको निस्सासिएर मृत्यु भएको हो । कोठाभित्र एउटै झ्याल रहेको र त्यसमा पनि सिसा लगाएको हुनाले उनको निस्सासिएरै मृत्यु भएको अनुमान गरेका छौं । यद्यपि पोष्टमार्टम रिपोट आउन बाँकी रहेको छ ।’

शनिबार बिहान बिष्ट नउठेपछि उनले बस्दै आएको कोठाको ढोका फोडेर उनलाई अचेत अवस्थामा फेला पारिएको थियो । तत्कालै उनलाई उपचारका लागि डडेल्धुरा अस्पातल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको सहायक प्रधानाध्यापक महराले बताए । 

प्राविधिक शिक्षा अध्ययनका लागि यसै शैक्षिक सत्रमा ज्ञानेश्वर माविमा भर्ना भएका बिष्टको निधनले विद्यालय परिवार शोकमा डुबेको छ । 

छोरालाई प्राविधिक बिषय पढाएर ठुलो मान्छे बनाउने आमा–बुवाको सपना पनि अधुरै रहेको छ । मृतक अपिलका बुवा नरेश बिष्ट रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । 

पढाई गर्दै आएको बालकको अल्पायूमै निधन भएपछि सुर्नया–५ को धुलिधार गाउँ शोकमा डुबेको छ । 

यसैबीच विद्यालयमा अध्ययनरत छात्रको असमायिक निधन भएपछि ज्ञानेश्वर माविले आइतबार (भोलि) शोक बिदा दिएको छ । कक्षा ९ मा अध्ययनरत अपिल बिष्टको मृत्यु भएकाले एक दिन विद्यालयमा शोक बिदा दिइएको सहायक प्रधानाध्यापक महराले बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update