Sagun Khabar
पुर्चौंडीले महिला स्वास्थ्य स्वयंसेविकालाई १२ हजार प्रोत्साहन भत्ता दिने, निशुल्क उपचार 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बार्षिक १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । 

नगरपालिकाभित्र रहेका १ सय २६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १२ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र अवस्थीले बताए । यसअघि दिँदै आएको प्रोत्साहन भत्तामा रकम थपेर यो बर्षदेखि १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको उनले बताए । 

Atrya hospital

बिहीबार २१ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा पारेर उक्त निर्णय गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आर्थिक बर्षको अन्त्यतिर प्रोत्साहन भत्ता उपलब्ध गराइने अवस्थीले बताए । 

महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यको क्षेत्रमा गरिरहेको कामको कदर गर्दै उनीहरुलाई निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय पनि भएको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए । 

पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्यचौकीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक्सरे, अल्ट्रासाउण्ड, इसिजी र प्रयोगशाला सेवा निशुल्क उपलब्ध गराइने भएको हो । अन्यको हकमा यी सेवाहरु सशुल्क रुपमा सञ्चालनमा रहेका छन् । 

महिला स्वास्थ्य स्वयंसेविकाहरुले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै बार्षिक रुपमा १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मीना धानुकले बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update